close

सिंहदरबार छिर्न कानुन व्यवसायीले नागरिक एपमार्फत गेट पास लिनुपर्ने, नेपाल बारको आपत्ति

टेकपाना टेकपाना

चैत २५, २०८२ १९:३५

सिंहदरबार छिर्न कानुन व्यवसायीले नागरिक एपमार्फत गेट पास लिनुपर्ने, नेपाल बारको आपत्ति

काठमाडौँ । कानुन व्यवसायीले आफ्नो परिचयपत्र देखाएर सिंहदरबार छिर्न नपाउने भएका छन् । उनीहरूले पनि सर्वसाधारण जस्तै नागरिक एपमार्फत गेट पास लिनुपर्ने व्यवस्था लागु भएको छ ।

यसअघि नेपाल बार काउन्सिल वा नेपाल बार एसोसिएसनको परिचयपत्रको आधारमा कानुन व्यवसायीले सिंहदरबार प्रवेश गर्न पाउँथे । एक सूचना जारी गर्दै प्रशासकीय अदालतले आफ्नो कार्यालय आउन नागरिक एपमार्फत प्राप्त हुने सिंहदरबार गेट पास अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।

नयाँ व्यवस्था लागु भएसँगै नेपाल बार एसोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ध्यानाकर्षण गराएको छ । बुधबार प्रधानमन्त्रीलाई पत्र लेख्दै बारले कानुन व्यवसायीलाई परिचयपत्रकै आधारमा निर्वाध रूपमा प्रवेश दिने साविकको व्यवस्थालाई नै निरन्तरता दिन माग गरेको छ ।

प्रधानमन्त्रीलाई पठाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “विगतमा जस्तै कानुन व्यवसायीको हकमा परिचयपत्रकै आधारमा निर्वाध रूपमा सिंहदरबार परिसरभित्र प्रवेशका लागि साविक व्यवस्था बमोजिम हुन अनुरोध गर्दछौँ ।”

बारले कानुन व्यवसायीहरू न्याय सम्पादनका अभिन्न अङ्ग भएकोले उनीहरूलाई प्रवेशमा झन्झटिलो प्रक्रिया थोपर्नु उचित नहुने तर्क गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ १९:४३