कोशी प्रदेशमा स्टार्टअपका लागि १० लाखसम्म बिउ पुँजी, २१ दिनभित्र आवेदन दिन आह्वान
चैत २६, २०८२ १५:३२
काठमाडौँ । कोशी प्रदेश सरकारले नयाँ ज्ञान, सोच र सीप भएका उद्यमीहरूलाई प्रोत्साहन गर्न स्टार्टअप उद्यम बिउ पुँजी (सीड क्यापिटल) प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ‘स्टार्टअप उद्यम बिउ पुँजी परिचालन कार्यविधि, २०८२’ जारी गर्दै योग्य उद्यमीहरूबाट परियोजना प्रस्ताव आह्वान गरेको हो ।
मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै इच्छुक स्टार्टअपहरूलाई २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । बिउ पुँजी पाउनका लागि प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा आएको १० वर्ष ननाघेका निजी फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाहरू योग्य हुनेछन् । कार्यविधि अनुसार वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम भएका र कुनै साविकको व्यवसायबाट नगाभिएका वा नटुक्रिएका नयाँ उद्यमहरूले मात्र यसमा सहभागी हुन पाउनेछन् ।
कार्यविधिले प्रति स्टार्टअप अधिकतम १० लाख रुपैयाँसम्म बिउ पुँजी तोकेको छ । स्वीकृत भएको रकम दुई किस्तामा उपलब्ध गराइने व्यवस्था छ । सम्झौता भए लगत्तै पहिलो किस्ताका रूपमा कुल रकमको २० प्रतिशत र व्यावसायिक योजना बमोजिम कार्य सम्पन्न भएपछि बाँकी ८० प्रतिशत रकम बैंक खातामार्फत भुक्तानी गरिने मन्त्रालयले जनाएको छ ।
आवेदनका साथमा उद्यमीहरूले उद्योग दर्ता तथा नवीकरणको प्रमाणपत्र, स्थायी लेखा नम्बर, कर चुक्ता प्रमाणपत्र, अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र नागरिकताको प्रतिलिपि बुझाउनुपर्नेछ । यसका साथै, आफ्नो व्यवसायमा सूचना प्रविधि र नवप्रवर्तन प्रयोग भएको पुष्ट्याइँ सहितको स्वघोषणा र अन्य सरकारी निकायबाट यसअघि कुनै अनुदान नलिएको प्रतिबद्धता पत्र समेत संलग्न गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८२ १५:३२
