close

विन्डोज १० प्रयोगकर्ता तान्न गुगलले ल्यायो पुराना पीसी सुरक्षित बनाउने नि:शुल्क विकल्प

टेकपाना टेकपाना

चैत २७, २०८२ २१:२०

विन्डोज १० प्रयोगकर्ता तान्न गुगलले ल्यायो पुराना पीसी सुरक्षित बनाउने नि:शुल्क विकल्प

काठमाडौँ । माइक्रोसफ्टले विन्डोज १० को सपोर्ट बन्द गर्ने समय नजिकिँदै गर्दा ५० करोडभन्दा बढी पुराना विन्डोज प्रयोगकर्ताहरू सुरक्षा जोखिममा पर्ने देखिएको छ । विन्डोज ११ मा अपग्रेड हुन नसक्ने ती पुराना पीसीहरूलाई काम लाग्ने बनाउन प्रतिस्पर्धी कम्पनी गुगलले क्रोम ओएस फ्लेक्स (ChromeOS Flex) को रूपमा नि:शुल्क विकल्प अघि सारेको छ ।

यसका लागि गुगलले हालै रिफर्बिस्ड इलेक्ट्रोनिक्स कम्पनी ब्याक मार्केटसँगको साझेदारीमा तीन डलर (करिब साढे चार सय रुपैयाँ) मूल्य पर्ने नयाँ यूएसबी किट सार्वजनिक गरेको छ । यो किटले पुराना कम्प्युटरमा क्रोम ओएस फ्लेक्स सजिलै इन्स्टल गर्न मद्दत गर्छ ।

तर नेपालमा यो किट अझै उपलब्ध छैन । ब्याक मार्केटले सुरुमा सीमित मात्रामा (तीन हजार मात्र) उत्पादन गरेको यो किट अमेरिका, युरोप, बेलायत, अस्ट्रेलिया, जापानजस्ता देशमा मात्र बिक्री भएको थियो । नेपाल वा दक्षिण एसियामा यो डिभाइस उपलब्ध छैन ।

नेपालका प्रयोगकर्ताका लागि भने अर्को विकल्प उपलब्ध छ । गुगलले क्रोम ओएस फ्लेक्स पूर्ण रूपमा नि:शुल्क डाउनलोड गर्न दिन्छ । कुनै पनि पुरानो यूएसबी पेनड्राइभ (आठ जीबी वा बढी क्षमताको) प्रयोग गरेर रुफस वा गुगलको क्रोमबुक रिकभरी युटिलिटीमार्फत बुटेबल यूएसबी आफैं बनाएर इन्स्टल गर्न सकिन्छ । नेपालमा दराज अनलाइन वा स्थानीय कम्प्युटर पसलबाट सस्तो यूएसबी किनेर यो काम गर्न सकिन्छ ।

क्रोम ओएस फ्लेक्स छिटो बुट हुने, स्वतः अपडेट हुने र उच्च सुरक्षा भएको क्लाउडमा आधारित अपरेटिङ सिस्टम हो । गुगलका अनुसार यो प्रणालीले अन्य अपरेटिङ सिस्टमको तुलनामा औसत १९ प्रतिशत कम ऊर्जा खपत गर्छ । यसले पुराना डिभाइसलाई लामो समयसम्म प्रयोगयोग्य बनाएर इलेक्ट्रोनिक फोहोर घटाउन मद्दत गर्छ । नयाँ ल्यापटप निर्माण गर्दा हुने कार्बन उत्सर्जन र ल्यान्डफिलमा जाने फोहोर पनि कम हुन्छ । 

विन्डोज १० को मुख्य सपोर्ट बन्द भएपछि माइक्रोसफ्टले अब नि:शुल्क सुरक्षा अपडेट, फिचर अपडेट वा प्राविधिक सहायता दिँदैन । कम्प्युटर अझै चल्छ, तर सुरक्षा अपडेट नआउँदा भाइरस, ह्याकिङ र अन्य खतरा बढेको छ । व्यक्तिगत प्रयोगकर्ताका लागि एक्स्टेन्डेड सेक्युरिटी अपडेट (ईएसयू) २०२६ अक्टोबर १३ सम्म सीमित रूपमा उपलब्ध छ भने इन्टरप्राइज प्रयोगकर्ताले थप समयका लागि पैसा तिरेर यो सुविधा लिन सक्छन् । 

नेपालमा धेरै प्रयोगकर्ताले वेब ब्राउजिङ, जीमेल, गुगल डक्स, युट्युब, अनलाइन क्लासजस्ता कामका लागि क्रोम ओएस फ्लेक्सलाई विकल्प मान्न सक्छन् । तर माइक्रोसफ्ट अफिसको पूर्ण संस्करण, हेभी सफ्टवेयर वा गेमिङ चलाउनेहरूका लागि भने समस्या हुन सक्छ ।

गुगलले विन्डोज १० को सपोर्ट बन्द भएको समयलाई मौका बनाएर क्रोम ओएस फ्लेक्सलाई बढी प्रचार गरिरहेको छ । यसले प्रविधि बजारमा माइक्रोसफ्टको एकाधिकारलाई केही हदसम्म चुनौती दिन सक्ने र नेपालजस्ता विकासशील देशमा ई-वेस्ट अर्थात् विद्युतीय घटाउने तथा पुराना डिभाइस बचाउने काममा टेवा पुग्ने देखिन्छ । "नयाँ ल्यापटप निर्माण गर्दा ठुलो मात्रामा कार्बन उत्सर्जन हुन्छ । पुराना डिभाइसलाई नै लामो समयसम्म प्रयोग गर्दा ल्यान्डफिलमा जाने फोहोर घट्छ," गुगलले आफ्नो ब्लगमा लेखेको छ ।

यता माइक्रोसफ्टले हालै विन्डोज ११ का पुराना भर्सन चलाइरहेका पीसीहरूलाई एआईमार्फत नयाँ संस्करणमा अपग्रेड गर्न सुरु गरेको छ । तर पुराना पीसीमा अझै हार्डवेयर लिमिटेसन छ । उसले आफ्नो विन्डोज ११ हाल पूर्ण रूपमा बगरहित भएको दाबी गरिरहँँदा प्रयोगकर्ताहरू भने यसको जटिलता र हार्डवेयर लिमिटेसनका कारण असन्तुष्ट देखिन्छन् । यसर्थ विविध कारणले विन्डोज ११ मा जान नसक्ने प्रयोगकर्ताहरूका लागि गुगलको अफर एउटा विकल्प हुन सक्छ । 

पछिल्लो अध्यावधिक: चैत २७, २०८२ ०:४