काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमसिंह चोकसम्म निःशुल्क सटल ईभी बस सञ्चालनमा ल्याइएको छ । विमानस्थल आवतजावत गर्ने हवाई यात्रुहरूलाई भरपर्दो, विश्वसनीय र सुलभ रूपमा आवागमन सुविधा उपलब्ध गराउनका लागि पोखरा महानगरपालिकाले यो सेवा सुरु गरेको हो ।
उक्त सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैङ्क समेतले ब्यहोर्ने उल्लेख छ । महानगरको वडा नं. १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म दैनिक दुईवटा विद्युतीय बसले सेवा दिनेछन् । बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने बसहरूले यात्रुलाई मुख्य सडकसम्म पुग्नको लागि सेवा प्रदान गर्नेछन् ।
यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि मुख्य सडकसम्म पुग्न करिब २ किलोमिटरको यात्रा गर्नुपर्ने भएकाले यात्रुहरूलाई सास्ती हुदै आएको थियो । महानगरपालिकाले २०८३ को असार मसान्तसम्म सम्पूर्ण यात्रुलाई निःशुल्क रूपमा उपलब्ध हुने गरी सेवा सञ्चालन गर्नेछ ।
पोखरा महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र कामना सेवा विकास बैङ्कका तर्फबाट पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख शिवकुमार ढकालले उक्त लागत साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख ढकालले स्थानीय सरकारले आम सर्वसाधारणका लागि गर्ने यस्ता कार्यमा बैङ्कले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्ने बताए । महानगरपालिकाले सञ्चालन गर्ने निःशुल्क सटल बस सेवामा सहयोग गरेकोमा प्रशासकीय अधिकृत पोखरेलले बैङ्कलाई धन्यवाद दिए ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ १५:५५
