close

वैदेशिक रोजगारीबाट फर्किँदा औँलाको १८ ग्राम औँठीलाई ४० हजार भन्सार, सामाजिक सञ्जालमा छेडियो बहस

टेकपाना टेकपाना

बैशाख ४, २०८३ १०:२६

वैदेशिक रोजगारीबाट फर्किँदा औँलाको १८ ग्राम औँठीलाई ४० हजार भन्सार, सामाजिक सञ्जालमा छेडियो बहस

काठमाडौँ । दक्षिण कोरियाको कडा श्रमपछि केही दिनको बिदा मनाउन स्वदेश फर्किएका पोखराका किरण सुवेदीका लागि यस पटकको नेपाल आगमन सुखद रहेन । ४ अप्रिल २०२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै उनले भोग्नुपरेको एउटा घटनाले उनलाई सामाजिक सञ्जालमा आक्रोश पोख्न बाध्य बनायो ।

सामान्यतया सामाजिक सञ्जालमा कमै सक्रिय हुने सुवेदीको फेसबुक पोस्टमा विरलै १०० लाइक काट्ने गर्थ्यो । तर बुधबार राति उनले शेयर गरेको पीडादायी अनुभवमा मात्रै ४१०० भन्दा बढी लाइक, ५०० कमेन्ट र १९७ पटक शेयर भइसकेको छ ।

सुवेदीको यो भोगाइ अहिले एक्स, टिकटक र फेसबुक लगायतका सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनिरहेको छ । भन्सार तिरेको रसिदसहित व्यापक रूपमा शेयर भइरहेको उनको पोस्टले वैदेशिक रोजगारीबाट फर्कने नेपालीहरूले विमानस्थलमा भोग्नुपर्ने सास्तीको विषयलाई पुनः बहसमा ल्याइदिएको छ ।

 

के थियो विमानस्थलको घटना ?

१२ घण्टाको लामो र थकित हवाई यात्रापछि सुवेदी रातिको करिब १२ बजे विमानस्थलको भन्सार सेक्सनमा पुगेका थिए । त्यहाँ जाँच गर्ने क्रममा भन्सार कर्मचारीले उनले औँलामा लगाएको करिब १८ ग्रामको औँठी निकाल्न लगाए । कर्मचारीहरूले उक्त औँठीलाई ‘काँचो सुन’ भएको दाबी गर्दै त्यसको कूल बजार मूल्यको १० प्रतिशत भन्सार तिरेपछि मात्रै लैजान पाउने अडान लिए ।

त्यतिबेलाको आफ्नो मानसिक अवस्था चित्रण गर्दै सुवेदीले लेखेका छन्, "रिसले त रगत भक्लक्क भक्लक्क उम्लिरहेको थियो । त्यहाँ आईफोन ल्याउनेहरूलाई पनि त्यस्तै गरिएको दृश्य मैले देखिरहेको थिएँ ।" कर्मचारीले एक हप्ताभित्र आएर पैसा बुझाएर सामान लैजान सकिने विकल्प दिए पनि पटक-पटक काठमाडौँ धाउन सम्भव नभएपछि उनले झन्डै ४० हजार नेपाली रुपैयाँ बुझाएर आफ्नो औँठी छुटाए ।

विमानस्थलको यो व्यवहारले सुवेदी यति विचलित भए कि उनलाई रातभर निद्रा लागेन । "एक मनले त किन नेपाल आएछु जस्तो पनि लागेको थियो," उनले भनेका छन् । "जसले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलेको छ, तिनै श्रमिकमाथि किन यस्तो अत्याचार गरिन्छ ?," उनले प्रश्न उठाएका छन् । उनले साना कुरामा गिद्दे नजर लगाएर दुःख गरी खाने वैदेशिक रोजगारका श्रमिकलाई यातना दिने काम तुरुन्तै बन्द गर्न माग गरेका छन् ।

सुवेदीको यो पोस्ट भाइरल भएपछि प्रयोगकर्ताहरूले नयाँ सरकारका प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई मेन्सन गर्दै भन्सारको व्यवहार सच्याउन माग गरेका छन् । एक्स प्रयोगकर्ता उत्तम बीले व्यङ्ग्य गर्दै लेखेका छन्, "१८ ग्राम भएर हो, ३२ किलो त त्यहीँबाट आरामसँग छोड्छन् ।" । अर्का प्रयोगकर्ता जगत बुढाथोकीले पनि विमानस्थलको व्यवहारले 'कहिल्यै नेपाल नआऊँ' जस्तो बनाउने अनुभव शेयर गरेका छन् ।

यद्यपि, केहीले भने सरकारको नियमको बचाउ समेत गरेका छन् । 'निम' नामक प्रयोगकर्ताका अनुसार २५ ग्रामसम्म गहना ल्याउन पाइने भए पनि रसायन बिनाको सुन 'काँचो' मानिने र नागरिकले भन्सार नियम बुझेर मात्र सामान ल्याउनुपर्ने तर्क गरेका छन् । कतिपयले बेरुवा औँठीलाई काँचो सुन मान्ने र यसैमार्फत तस्करी हुन सक्ने ठानेर भन्सार लिइने बताएका छन् । तर, सुवेदीले भने आफ्नो औँठी बेरुवा नभई सामान्य गहना नै भएको स्पष्ट पारेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८३ १०:२६