सुरु भयो ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था
बैशाख ४, २०८३ १०:४७
काठमाडौँ । सरकारले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागु गरेको छ । शुक्रबार काभ्रेको पनौती स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले आजदेखि यो व्यवस्था लागु भएको जानकारी दिएका हुन् ।
मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए । “अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन् । लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ,” उनले भने ।
निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । विगतमा आवश्यक इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले अब ती समस्या समाधान गर्दै अघि बढ्ने बताए ।
अर्बौँ रकम खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि थन्किएको र अब तिनलाई सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिएको पनि उनले जानकारी दिए । केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोग विहीन हुनु दुःखद रहेको भन्दै उनले अब त्यसको प्रभावकारी उपयोग गरिने बताए ।
मन्त्री तिमिल्सिनाले केन्द्रलाई नागरिकको डेटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन केन्द्रका कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् । त्यस्तै सरकार जनताको सेवाका लागि काम गरिरहेको उल्लेख गर्दै उनले सेवा प्रवाहमा देखिएका गुनासो छिटो समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारे ।
मन्त्री तिमिल्सिनाले देशभर इन्टरनेट र मोबाइल सेवाको पहुँच र गुणस्तर सुधार पनि प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको सुनाए ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउने योजना तयार भइरहेको जानकारी दिए । भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकर जस्ता महत्त्वपूर्ण कागजात छाप्ने सक्ने गरी क्षमता विकास गरिएको उनले बताए ।
हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ । विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र १२ वैशाखभित्र १२ लाख छापि सक्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको उनको भनाई छ ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८३ १०:५५
