close

फुटपाथमा पार्क गरेपछि प्रहरीकै भ्यान ट्राफिक कारबाहीमा

टेकपाना टेकपाना

बैशाख ४, २०८३ १९:७

फुटपाथमा पार्क गरेपछि प्रहरीकै भ्यान ट्राफिक कारबाहीमा

काठमाडौँ । पोखरामा फुटपाथमा पार्किङ गर्ने प्रहरीकै भ्यान ट्राफिक कारबाहीमा परेको छ । सामाजिक सञ्जालमा प्रहरीको गाडी फुटपाथमा पार्क गरिएको तस्बिर सार्वजनिक भएपछि जिल्ला ट्राफिक कार्यालय कास्कीले आफ्नै संगठनको ग १ झ ५७१ नम्बरको भ्यानलाई कारबाही गरेको हो ।

फुटपाथमा पार्क गर्दा सर्वसाधारणको आवागमनमा बाधा पुगेको र कानुन कार्यान्वयन गर्ने निकायबाटै नियम उल्लंघन भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । प्रहरी प्रधान कार्यालयले उक्त तस्बिरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नियम उल्लंघन गर्ने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारबाही गरिएको जानकारी दिएको छ ।

कानुनको पालना गराउने जिम्मेवारी पाएका कर्मचारीहरूबाटै सडक अनुशासन विपरीतका कार्य हुनु अक्षम्य रहेको प्रहरीको ठहर छ ।

“कानुन कार्यान्वयन गर्ने निकायका सदस्यहरूको सडक अनुशासन विपरीतका कार्यले सर्वसाधारण नागरिकको आवागमनमा बाधा पुग्नुका साथै प्रचलित नियम कानुनको समेत उल्लङ्घन हुने गर्दछ,” प्रहरीले फेसबुक पोस्टमा भनेको छ, “कानुनको पालना गर्ने र गराउने गहन जिम्मेवारी बोकेको संस्थाका सदस्यहरूले सवारी साधन प्रयोगमा उच्च अनुशासन कायम गर्नु आवश्यक छ ।”

यस घटनालाई पाठको रूपमा लिँदै प्रहरीले आफ्ना सम्पूर्ण एकाइ र कर्मचारीहरूलाई सरकारी वा निजी जुनसुकै सवारी साधन चलाउँदा वा पार्किङ गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न मातहतका कर्मचारीलाई सचेत गराएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८३ १९:१३