टिकटकमा बिरामीको भिडिओ राखेको भन्दै डा. साहलाई मेडिकल काउन्सिलले सोध्यो स्पष्टीकरण
बैशाख ५, २०८३ १२:४०
काठमाडौँ । बिरामीको उपचार गरेको भिडिओ र गोप्य सामग्रीहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुधीरप्रसाद साहलाई स्पष्टीकरण सोधेको छ । भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा कार्यरत डा. साहलाई शुक्रबार काउन्सिलले पत्र काट्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवद्वारा हस्ताक्षरित पत्रमा डा. साहले चिकित्सकको व्यावसायिक आचारसंहिता उल्लंघन गरेको उल्लेख छ ।
अनुगमनका क्रममा डा. साहले अप्रिल २०२५ देखि अप्रिल २०२६ को अवधिमा आफ्नो टिकटक प्लेटफर्ममार्फत बिरामीहरूको उपचार प्रक्रिया र विभिन्न भिडिओ सामग्रीहरू अपलोड गरेको पाइएको काउन्सिलको जनाएको छ ।
उक्त कार्य ‘नेपाल मेडिकल काउन्सिलको कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट २०१७’ को विभिन्न बुँदाहरूको बर्खिलाप रहेको काउन्सिलको ठहर छ ।
पत्रमा भनिएको छ, “...तपाईंलाई किन कारबाही नगर्ने ? यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अनुरोध गरिन्छ ।”
तोकिएको समयमा चित्तबुझ्दो जवाफ नआएमा प्रचलित कानुन बमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत काउन्सिलले दिएको छ ।
रुपन्देहीको बुटवल र भैरहवा क्षेत्रमा मुटु रोग विशेषज्ञको रूपमा कार्यरत डा. साह सामाजिक सञ्जालमा सक्रिय छन् । टिकटकमा मात्रै उनको तीन लाख ७९ हजारभन्दा बढी फलोअर रहेका छन् । उनले मुटु रोग सम्बन्धी सचेतना र उपचारका भिडिओहरू नियमित रूपमा पोस्ट गर्दै आएका छन् ।
सामाजिक सेवा र सचेतनाका दृष्टिले उनी लोकप्रिय रहे पनि बिरामीको गोपनीयता र मेडिकल आचारसंहिताका विषयमा भने काउन्सिलले प्रश्न उठाएको हो ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८३ १२:५१
