कागजात मात्र नभई फोटो र भिडिओबाट पनि स्टार्टअप कर्जाका लागि आवेदन दिने कम्पनीको मूल्याङ्कन सुरु
बैशाख ७, २०८३ १४:२९
काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएका कम्पनीहरूको भौतिक अवस्थितिको मूल्याङ्कन सुरु गरेको छ । कागजी प्रक्रियालाई मात्र आधार नमानेर आवेदन दिने स्टार्टअपको वास्तविक अवस्था बुझ्न प्रतिष्ठानले स्थानीय तहसँगको समन्वयमा स्थलगत निरीक्षण अघि बढाएको हो ।
प्रतिष्ठानका सूचना अधिकारी मणिराम गौतमका अनुसार स्थानीय तहमा कार्यरत उद्यम विकास सहजकर्ताहरूलाई यस प्रक्रियामा परिचालन गरिएको छ ।
“हामीले सबै स्थानीय तहका उद्यम विकास सहजकर्तालाई हाम्रो प्रणालीमा जोडेका छौँ,” गौतमले भने, “उहाँहरूले सम्बन्धित स्थानमै पुगेर कम्पनी सञ्चालनमा रहे/नरहेको र कामको यथार्थ विवरण सङ्कलन गर्नुहुनेछ ।”
निरीक्षणका क्रममा सहजकर्ताहरूले प्रत्येक कम्पनीको कम्तीमा पाँच ओटा तस्बिर र एक मिनेट लामो भिडिओ खिचेर प्रतिष्ठानको प्रणालीमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ । ती तस्बिर र भिडिओलाई आवेदकले पेस गरेका कागजातसँग भिडाएर अन्तिम मूल्याङ्कन गरिने प्रतिष्ठानले जनाएको छ ।
यसअघि कागजातका आधारमा मात्र कर्जाका लागि योग्य छनोट गर्दा वास्तविक काम गर्नेहरू छुटेको गुनासो आएपछि यो वर्षदेखि नयाँ पद्धति अपनाइएको हो । सूचना अधिकारी गौतमले भने, “यसअघि राम्रो कागजात बनाउनेले मात्र मौका पाएको तर फिल्डमा राम्रो काम गर्नेहरू छुटेको गुनासो सुनियो । त्यसैले यस पटक कामको वास्तविक अवस्था जाँच गर्न लागेका हौँ ।”
चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले स्टार्टअप कर्जा शीर्षकमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै गत १९ कात्तिकमा आवेदन आह्वान गरिएको थियो । स्टार्टअप कर्जाका लागि देशभरबाट कुल १० हजार २४४ ओटा आवेदन परेका छन् । जसमा आठ हजार २०३ ओटा अनलाइन र दुई हजार ४१ ओटा भौतिक रूपमा दर्ता भएका छन् ।
सबै स्थानीय तहबाट स्थलगत प्रतिवेदन प्राप्त भएपछि मूल्याङ्कन समितिले तस्बिर, भिडिओ र कागजातको क्रस भेरिफिकेसन गरिने उनले बताए । त्यसपछि मात्र कर्जाका लागि योग्य कम्पनीहरूको अन्तिम सूची सार्वजनिक गरिने सूचना अधिकारी गौतमले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ १४:५०
