काठमाडौँ । एप्पलले आफ्ना नयाँ म्याक स्टुडियो र म्याकबुक प्रो मोडेलका डिभाइसहरू बजारमा ल्याउन केही ढिलाइ गर्ने भएको छ । विश्व बजारमा देखिएको चिप अभावका कारण यी डिभाइसको सार्वजनिक मिति पछि सर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ब्लुमबर्गका अनुसार एप्पलका कम्तीमा दुई नयाँ डिभाइस पूर्वयोजनाभन्दा ढिलो गरी सार्वजनिक हुने सम्भावना छ । यसरी ढिलाइ हुने डिभाइसमा नयाँ म्याक स्टुडियो र टच स्क्रिन फिचरसहित आउने अपेक्षा गरिएको म्याकबुक प्रो रहेका छन् ।
हाल बजारमा उपलब्ध शक्तिशाली चिपसेटयुक्त म्याक स्टुडियोको माग बढेको ब्लुमबर्गले लेखेको छ ।
यसअघि कम्पनीले नयाँ म्याक स्टुडियो यसै वर्ष (२०२६)को मध्यतिर सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, मेमोरी आपूर्तिमा देखिएको समस्या तत्काल समाधान हुने सङ्केत नदेखिएपछि अब नयाँ म्याक स्टुडियो अक्टोबरको अन्त्यतिर मात्रै सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।
चिप अभावले यी दुई डिभाइसका अतिरिक्त एप्पलका अन्य नयाँ उत्पादनहरूको सार्वजनिक तालिकालाई समेत प्रभावित पार्न सक्ने देखिएको छ । यद्यपि, यस ढिलाइका बारेमा एप्पलले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८३ ११:१
