शेयर विवाद र नैतिकताको प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बैशाख ९, २०८३ १४:४०
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् । शेयर लगानी लगायतका विषयमा आफूमाथि सार्वजनिक रूपमा प्रश्न र टिप्पणी उठेपछि उनले नैतिकताको आधारमा पद त्यागेको घोषणा गरेका हुन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै राजीनामाको घोषणा गरेका हुन् । गत १३ चैतमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङले नागरिक स्तरबाट उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै राजीनामा दिएको उल्लेख गरेका छन् ।
गुरुङले आफूसँग सम्बन्धित विषयमा हुने निष्पक्ष छानबिनमा कुनै अवरोध नहोस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, “मेरो लागि पदभन्दा ठुलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठुलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।”
सहिद र बलिदानीको जगमा बनेको सरकारमाथि प्रश्न उठ्दा त्यसको जवाफ नैतिकता हुनुपर्ने उनको जिकिर छ । “मेरा ४६ जना भाइ-बहिनीहरूको रगत र बलिदानको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,” उनले भनेका छन् ।
राजीनामा दिने क्रममा उनले सञ्चारकर्मीहरूमाथि पनि व्यङ्ग्य मिश्रित प्रश्न तेर्स्याएका छन् । केही मिडियाकर्मीहरूको पनि विभिन्न क्षेत्रमा स्वेट शेयर रहेको दाबी गर्दै उनले लेखेका छन्- “कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वेट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।
सम्बन्धित समाचार:
व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन: गृहमन्त्री गुरुङ
अस्वाभाविक सम्पत्ति र विवादित शेयर लगानीले सामाजिक सञ्जालबाटै घेराबन्दीमा गृहमन्त्री
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ १४:५८
