close

नागरिक एपमा ड्राइभिङ लाइसेन्स नदेखिएको प्रयोगकर्ताको गुनासो

टेकपाना टेकपाना

बैशाख ९, २०८३ १८:२०

नागरिक एपमा ड्राइभिङ लाइसेन्स नदेखिएको प्रयोगकर्ताको गुनासो

काठमाडौँ । विभिन्न सरकारी सेवाहरूलाई एकीकृत गरिएको नागरिक एपमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखिन छाडेको भन्दै प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । बुधबार दिउँसोदेखि एपमा पटक-पटक समस्या देखिएको र लाइसेन्सको विवरण नखुलेको भन्दै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।

एप खोल्दा लाइसेन्स नै नदेखिने वा विवरण लोड नहुने समस्या देखिएको छ । केही प्रयोगकर्ताले भने लाइसेन्सको सेक्सनमा कार्डको ‘डमी’ (खाका) मात्र देखिने तर व्यक्तिगत विवरण नखुल्ने समस्या भोगिरहेका छन् ।

यस सम्बन्धमा गरिएको परीक्षणका क्रममा लाइसेन्स खुल्न निकै समय लाग्ने र कहिलेकाहीँ ‘ब्ल्याङ्क कार्ड’ (खाली कार्ड) मात्र देखिने गरेको पाइयो । यद्यपि, कतिपय अवस्थामा विवरणहरू यथावत रूपमा खुल्ने गरेको पनि देखिएको छ । यो समस्या सबै प्रयोगकर्तामा साझा हो वा केही सीमित व्यक्तिमा मात्र देखिएको हो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।

यस समस्याका बारेमा आधिकारिक जानकारी लिन नागरिक एपका प्रतिनिधिसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

नेपाल सरकारले पछिल्लो समय सवारी जाँचका क्रममा ट्राफिक प्रहरीलाई नागरिक एपमा रहेको डिजिटल लाइसेन्स देखाउँदा त्यसलाई कानुनी मान्यता दिने व्यवस्था गरेको छ । सरकारको सोही निर्णयका कारण धेरै सवारी चालकले भौतिक कार्ड (स्मार्ट कार्ड) बोक्नुको विकल्पमा एपमा रहेको डिजिटल कार्ड प्रयोग गर्ने गरेका छन् । यस्तो अवस्थामा एपमा देखिएको प्राविधिक समस्याले चालकहरूलाई सडकमा सवारी जाँचका क्रममा सास्ती हुन सक्ने देखिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ १८:३१