close

‘कनेक्ट आईपीएस अकाउन्ट लक भयो’ भन्दै एटी_अलर्टजस्ता शर्टकोडबाट आउने नक्कली एसएमएसबाट बच्न आग्रह

टेकपाना टेकपाना

बैशाख ११, २०८३ १३:२२

‘कनेक्ट आईपीएस अकाउन्ट लक भयो’ भन्दै एटी_अलर्टजस्ता शर्टकोडबाट आउने नक्कली एसएमएसबाट बच्न आग्रह

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘कनेक्ट आईपीएस’ प्रयोगकर्तालाई लक्षित गर्दै मोबाइलमा आउने नक्कली एसएमएसको विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय विभिन्न अपरिचित शर्ट कोड प्रयोग गरी अकाउन्ट लक भएको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएपछि कम्पनीले एक सूचना जारी गर्दै प्रयोगकर्तालाई सतर्क गराएको हो ।

कम्पनीका अनुसार ठगले विशेषगरी प्रयोगकर्ताको मोबाइल नम्बरमा ‘तपाईंको कनेक्ट आईपीएस अकाउन्ट लक हुन लागेको वा लक भएको’ भन्दै त्रास देखाएर एसएमएस पठाउने गरेका छन् । उक्त एसएमएसमा एउटा शङ्कास्पद लिङ्क पनि समावेश गरिएको हुन्छ । प्रयोगकर्ताले आत्तिएर उक्त लिङ्कमा क्लिक गरेपछि ठ्याक्कै कनेक्ट आईपीएसकै जस्तो देखिने नक्कली वेबसाइट (फिशिङ पेज) खुल्छ ।

त्यहाँ प्रयोगकर्तालाई आफ्नो लगइन क्रेडेन्सियल (युजरनेम, पासवर्डलगायतका विवरण) राख्न भनिन्छ । प्रयोगकर्ताले आफ्नो अकाउन्ट खोल्ने आशामा त्यहाँ विवरण राखेपछि उक्त जानकारी सोझै ह्याकरको पहुँचमा पुग्छ । त्यसपछि ह्याकरले सक्कली अकाउन्टमा पहुँच बनाएर प्रयोगकर्ताको बैङ्क खाता नै रित्याइदिने उच्च जोखिम हुन्छ ।

यस प्रकारको साइबर ठगीबाट बच्न अपिल गर्दै कनेक्ट आईपीएसले आफ्नो आधिकारिक पेजमा लेखेको छ, “AT_Alert वा अन्य कुनै शङ्कास्पद शर्ट कोडबाट ‘connectIPS Locked’ भन्दै मेसेज र लिङ्क आएमा झुक्किएर पनि क्लिक नगर्नुहोस् । सधैँ आधिकारिक च्यानल मात्र प्रयोग गरौँ र आफ्नो गोप्य जानकारी सुरक्षित राखौँ ।” कम्पनीले आफ्नो आधिकारिक शर्ट कोड NCHL-Alert र NCHL_Alert बाट आएका मेसेजलाई मात्र विश्वास गर्न आग्रह गरेको छ ।

पछिल्लो समय यस्ता विभिन्न नक्कली शर्टकोडबाट लिङ्क पठाएर डिजिटल वालेट तथा बैङ्किङ प्रणाली ह्याक गर्ने घटना बढिरहेका छन् । यस्तोमा भुक्तानी सेवा प्रदायकको आधिकारिक शर्टकोड सिस्टमबाट आएको मेसेजलाई मात्र विश्वास गर्नु उपयुक्त हुन्छ ।

कुनै पनि शर्टकोडबाट ‘अकाउन्ट लक भयो’ भन्ने एसएमएस आउनासाथ आत्तिएर त्यहाँ दिइएको लिङ्क पछ्याउनु हुँदैन । त्यस्तो मेसेज आएमा पहिले आफ्नो अकाउन्ट सुरक्षित भए/नभएको आफैँले आधिकारिक एप वा वेबसाइटमा गएर जाँच गर्नुपर्छ । यदि अकाउन्ट साँच्चिकै लक भएको अवस्थामा वा कुनै प्राविधिक समस्या देखिएमा लिङ्क खोल्नुको साटो सोझै सम्बन्धित कम्पनीको आधिकारिक ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८३ १३:३७