close

फेसबुक अकाउन्टमा असम्बन्धित भिडिओ शेयर भएपछि महावीर पुन भन्छन्- खै ह्याक भयो होला नि !

टेकपाना टेकपाना

बैशाख १२, २०८३ १३:२६

फेसबुक अकाउन्टमा असम्बन्धित भिडिओ शेयर भएपछि महावीर पुन भन्छन्- खै ह्याक भयो होला नि !

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको हुनसक्ने बताएका छन् । शनिबार आफ्नो भेरिफाइड अकाउन्टबाट असम्बन्धित भिडिओ शेयर भएपछि पुनले अनधिकृत व्यक्तिले यसो गरेको सुनाए ।

पुनको फेसबुक पेजमा एक्कासि अङ्ग्रेजी भाषाको एक असम्बन्धित भिडिओ पोस्ट भएको थियो । 

आधिकारिक पेजबाटै अस्वाभाविक सामग्री पोस्ट भएको देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पुनको अकाउन्ट ह्याक भएको अनुमान गरेका थिए । यद्यपि, केही समयपछि उक्त पोस्ट पेजबाट हटेको छ ।

यस विषयमा टेकपानाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुनसँग सम्पर्क गर्दा उक्त भिडिओ आफूले शेयर नगरेको दाबी गरे । “खै, ह्याक भयो होला नि ! मलाई त त्यस्तो भिडिओ शेयर गरेको थाहै छैन,” पुनले भने ।

उनले आफ्नो भेरिफाइड अकाउन्टबाट कसरी असम्बन्धित भिडिओ शेयर भयो भन्ने विषयमा प्राविधिक रूपमा बुझ्ने प्रयास भइरहेको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ १३:४३