close

२९ मेदेखि ललितपुरमा ‘जंक्सन एक्स काठमाडौँ’ आयोजना हुने, यस्ता छन् मुख्य आकर्षण

टेकपाना टेकपाना

बैशाख १२, २०८३ २०:४०

२९ मेदेखि ललितपुरमा ‘जंक्सन एक्स काठमाडौँ’ आयोजना हुने, यस्ता छन् मुख्य आकर्षण

काठमाडौँ । सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यका साथ आगामी २९ देखि ३१ मेसम्म ‘जंक्सन एक्स काठमाडौँ’ आयोजना हुने भएको छ । ललितपुरको खुमलटारस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआईटीएम) कलेजमा सोम्स नेपाल र फिनल्यान्डको कग्निटले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

तीन दिनसम्म चल्ने कार्यक्रममा ह्याकाथन, प्यानल छलफल, मेन्टरिङ र सूचना तथा सञ्चार प्रविधि सम्बन्धी प्रदर्शनी सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा ‘हाइड्रोपावर एन्ड सस्टेनेबल इनर्जी’, ‘हस्पिटालिटी एन्ड हेरिटेज’ र ‘हाई-टेक’ गरी तीन ओटा थिम  तय गरिएका छन् । यी क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल प्रविधिको इन्टिग्रेसन कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित रहने बताइएको छ । आयोजकका अनुसार प्रत्येक दिनलाई छुट्टाछुट्टै विषयगत थिममा विभाजन गरी प्यानल छलफल, सेमिनार र पेपर प्रिजेन्टेसनहरू प्रस्तुत गरिनेछन् । 

कार्यक्रमअन्तर्गत हुने ह्याकाथन पनि यिनै तीन ओटा थिममा केन्द्रित रहनेछ । काठमाडौँ उपत्यकाका ३० भन्दा बढी शैक्षिक संस्थाका ३०० भन्दा बढी विद्यार्थीले यस ह्याकाथनमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रदर्शनीमा नेपाल र फिनल्यान्डका २५ भन्दा बढी प्रविधि कम्पनीले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गर्नेछन् । साथै, ह्याकाथनमा सहभागी विद्यार्थीहरूका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूबाट मेन्टरिङ सेसन समेत सञ्चालन गरिनेछ ।

‘जंक्सन एक्स काठमाडौँ’ का विभिन्न सत्रहरूमा सहभागी हुन चाहनेहरूका लागि मे महिनाको पहिलो सातादेखि नै अनलाइन बुकिङ खुला गरिने आयोजकले जनाएको छ ।

*शीर्षक परिमार्जन गरिएको छ । स.

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८३ १४:७