close

साइबर सेक्युरिटी प्लेटफर्म बगक्राउडको शीर्ष ह्याकरको पहिलो नम्बरमा नेपाली युवा वीरेन्द्र साह

टेकपाना टेकपाना

बैशाख १८, २०८३ १६:९

साइबर सेक्युरिटी प्लेटफर्म बगक्राउडको शीर्ष ह्याकरको पहिलो नम्बरमा नेपाली युवा वीरेन्द्र साह

काठमाडौँ । साइबर सेक्युरिटी प्लेटफर्म ‘बगक्राउड’को मासिक ह्याकरको सूचीमा नेपाली युवा वीरेन्द्र साह पहिलो स्थानमा पर्न सफल भएका छन् । इथिकल ह्याकर र विश्वका विभिन्न कम्पनीलाई जोड्ने यस प्लेटफर्मले सार्वजनिक गरेको अप्रिल महिनाको सूचीमा साह पहिलो स्थानमा परेका हुन् । 

बगक्राउडको पछिल्लो एक महिनाको तथ्याङ्क अनुसार साहले ८८ ओटा भ्यालिड सब्मिसन (प्रमाणित कमजोरी) पठाएर कुल ८५५ पोइन्ट प्राप्त गर्दै शीर्ष स्थान ओगटेका छन् । सोही अवधिको सूचीमा इजिप्टका मस्तफा मोम्दह ८४५ पोइन्टका साथ दोस्रो र भारतका कन्हैया शर्मा ८१५ पोइन्टका साथ तेस्रो स्थानमा छन् ।

बगक्राउडको समग्र तथ्याङ्क हेर्दा वीरेन्द्रले हालसम्म विभिन्न सफ्टवेयर र प्रणालीमा १७३१ ओटा कमजोरी पत्ता लगाएर रिपोर्ट गरिसकेका छन् । यसबापत उनले कुल १० हजार १९० पोइन्ट पाएका छन् । प्राविधिक त्रुटि पत्ता लगाउने उनको कामको शुद्धता ९९.२५ प्रतिशत रहेको बगक्राउडले उल्लेख गरेको छ ।

सन् २०२१ देखि यस प्लेटफर्ममा जोडिएका उनले सन् २०२५ मा २३८ ओटा र सन् २०२६ को हालसम्मको अवधिमा २३२ ओटा भ्यालिड सब्मिसन पठाएको तथ्याङ्कमा उल्लेख छ । बगक्राउडको विश्वका शीर्ष १०० ह्याकरको सूचीमा वीरेन्द्रसँगै अर्का नेपाली युवा अविरल श्रेष्ठ पनि रहेका छन् ।

सन् २०१७ देखि बगक्राउडमा सक्रिय श्रेष्ठ समग्र र्‍याङ्किङको ३८औं स्थानमा छन् । उनले हालसम्म १०३१ ओटा कमजोरी फेला पार्दै नौ हजार ६८५ पोइन्ट प्राप्त गरेका छन् ।

हजारौं साइबर सुरक्षा अनुसन्धानकर्ता जोडिएको बगक्राउडको उत्कृष्ट १०० भित्र अटाउने यी दुई मात्र नेपाली हुन् ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८३ १७:४२