नेपालमा फाइभजी सेवा सुरु गर्नुअघि फोरजीको पूर्वाधार विस्तारमा जोड दिन सरोकारवालाको सुझाव
बैशाख १९, २०८३ १५:१४
काठमाडौँ । नेपालमा मोबाइल इन्टरनेटको पाँचौँ पुस्ता (फाइभजी) सेवा सञ्चालनका लागि विद्यमान फोरजी पूर्वाधारको विस्तार र सुदृढीकरण अनिवार्य रहेको सरोकारवालाहरूले औँल्याएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र ह्वावे नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘टेक फर्वार्ड: मिडिया डायलग २०२६’ मा विज्ञहरूले दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिएका हुन् ।
बिहीबार हात्तीसारस्थित ह्वावे टावरमा आयोजित कार्यक्रममा सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा भइरहेका पछिल्ला विकासक्रम र यसको प्रभावबारे गहन छलफल भएको थियो ।
सहभागीहरूलाई स्वागत गर्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेन केयाङ (चेस्टर) ले नेपालको प्रविधि क्षेत्रमा काम गर्न आफू उत्साहित रहेको बताए । पर्याप्त दक्ष जनशक्ति भए पनि आईसीटी पूर्वाधारमा नेपाल छिमेकी देशहरूभन्दा केही पछाडि रहेको उल्लेख गर्दै उनले भने, “यसलाई हामीले अवसरका रूपमा लिनुपर्छ, किनभने नेपालमा सुधारको पर्याप्त सम्भावना छ । दूरसञ्चार क्षेत्रको दिगो र अर्गानिक वृद्धिका लागि नियामक, सरकार, सेवा प्रदायक र मिडियाबीचको संयुक्त प्रयास आवश्यक छ ।”
कार्यक्रममा फाइभजी सञ्चालनका सम्भावना र चुनौतीबारे प्राविधिक छलफल भएको थियो । भौगोलिक जटिलता र लगानीका कारण नेपालजस्तो देशमा तत्कालै ‘स्ट्यान्ड-अलोन’ फाइभजी पूर्वाधार निर्माण गर्न चुनौतीपूर्ण रहेको विज्ञहरूको निष्कर्ष छ ।
यसको विकल्पमा ‘नन-स्ट्यान्ड अलोन’ प्रविधि अपनाउनुपर्नेमा उनीहरूले जोड दिए । यो प्रविधि अन्तर्गत छुट्टै नयाँ कोर नेटवर्क नबनाई विद्यमान फोरजी एलटीईकै पूर्वाधारमा फाइभजी उपकरणहरू थपेर सेवा विस्तार गर्न सकिन्छ, जसका लागि फोरजीको पहुँच देशभर पुग्नु आवश्यक छ ।
विश्वमा थ्रीजी भित्र्याउन अग्रणी देखिएको नेपाल फाइभजीमा भने सुस्त हुनुमा नियामक निकाय, सरकार र सेवा प्रदायकबीच आपसी समन्वयको अभाव रहेको सहभागीहरूको बुझाइ थियो ।
कार्यक्रममा टीजेएफका अध्यक्ष पूर्ण दुवालले प्रविधि पत्रकारिताको वर्तमान अवस्था र भविष्यबारे चर्चा गरे । डिजिटल रूपान्तरणसँगै मिडियामा आएको परिवर्तनलाई आत्मसात् गर्दै तथ्यपरक र उत्तरदायी पत्रकारिताको आवश्यकतामा उनले जोड दिए । “सही सूचना प्रवाह र डिजिटल साक्षरताका लागि प्रविधि पत्रकारहरूको क्षमता अभिवृद्धि हुनुपर्छ,” उनले भने ।
समारोहमा ह्वावे इन्टरप्राइजेजका निर्देशक प्रदीप पानुहारले ‘एआई ट्रेन्ड्स एन्ड इन्टरप्राइज सोलुसन्स’ बारे प्रस्तुतीकरण दिँदै व्यावसायिक क्षेत्रमा एआईको प्रयोगले उत्पादकत्व र निर्णय प्रक्रियामा सुधार ल्याउने बताए ।
त्यस्तै, डेटा सेन्टर विज्ञ रोहितचन्द्र शाहले सुरक्षित र दिगो डिजिटल अर्थतन्त्रका लागि उच्च क्षमताका डेटा सेन्टर आवश्यक रहेको उल्लेख गरे ।
अर्का विज्ञ प्रभात रेग्मीले फाइभजी प्रविधिले स्मार्ट सिटी र इन्टरनेट अफ थिङ्स (IoT) का माध्यमबाट डिजिटल सेवालाई नयाँ उचाइमा पुर्याउने जानकारी दिए ।
कार्यक्रममा टीजेएफका उपाध्यक्ष गणेश सुवेदीले प्रविधि र मिडियाबिचको सहकार्यले डिजिटल इकोसिस्टमलाई सुदृढ बनाउने बताए ।
ह्वावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असित अधिकारीले विगत २७ वर्षदेखि ह्वावेले नेपालको सामाजिक र आर्थिक रूपान्तरणमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि गुणस्तरीय सेवामा प्रतिबद्ध रहेको सुनाए । उनका अनुसार ह्वावेले हाल विश्वका १७० भन्दा बढी देशमा सेवा पुर्याउँदै दुई लाख बढीलाई रोजगारी दिइरहेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ १५:१८
