close

कम्बोडियामा अनलाइन स्क्याममा संलग्न भए आजीवन कैद वा ५ लाख डलरसम्म जरिवाना हुनसक्ने, स्वदेश फर्किन दूतावासको आग्रह

टेकपाना टेकपाना

बैशाख २१, २०८३ १७:५७

कम्बोडियामा अनलाइन स्क्याममा संलग्न भए आजीवन कैद वा ५ लाख डलरसम्म जरिवाना हुनसक्ने, स्वदेश फर्किन दूतावासको आग्रह

काठमाडौँ । थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासले कम्बोडियामा भिजिट भिसामा गएर लुकीछिपी बसेका तथा अवैध अनलाइन स्क्यामिङमा संलग्न नेपालीलाई तत्काल त्यस्ता कार्य छाडेर स्वदेश फर्कन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकलाई लक्षित गरी यस्तो अनुरोध गरेको हो ।

पर्यटकको बहानामा कम्बोडिया पुग्ने र भिसा अवधि सकिएपछि पनि उतै बस्ने नेपालीको संख्या बढेको र कतिपय नेपाली अवैध अनलाइन स्क्यामिङ केन्द्रमा संलग्न रहेको दूतावासको भनाइ छ । अनलाइन स्क्यामिङलाई अन्तरदेशीय अपराध मान्दै कम्बोडिया सरकारले यसलाई नियन्त्रण गर्न हालै नयाँ कानुन लागु गरेको दूतावासले जनाएको छ । नयाँ कानुन अनुसार यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कसुरको प्रकृति हेरी पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैद सम्मको सजाय हुने व्यवस्था छ । 

कम्बोडिया सरकारले हाल यस्ता अवैध केन्द्र बन्द गराउने र संलग्नलाई पक्राउ गर्ने अभियान तीव्र पारेकाले कुनै पनि गैरकानुनी काममा नलाग्न र त्यस्तो काम गरिरहेको भए तत्काल छाडेर नेपाल फर्कन दूतावासले आग्रह गरेको छ ।

उच्च तलब र आकर्षक सुविधाको प्रलोभनमा परेर भिजिट भिसामा कम्बोडियालगायतका देशमा रोजगारीका लागि नजान दूतावासले सर्वसाधारणलाई सचेत गराएको छ । वैदेशिक रोजगारीमा जानै परे वैदेशिक रोजगार विभाग वा सम्बन्धित देशको दूतावासमार्फत रोजगारदाताको आधिकारिकता यकिन गर्न र विभागबाट अनिवार्य श्रम स्वीकृति लिएर मात्र जान आग्रह गरिएको छ ।

कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने नेपालीको सहजीकरणका लागि दूतावासले तथ्यांक र सूचना संकलन सुरु गरेको छ । यसका लागि दूतावासले एउटा अनलाइन फारम सार्वजनिक गरेको छ । त्यसका लागि यहाँ क्लिक गरी आफ्नो विवरण भर्न सकिनेछ ।

आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइ श्रम स्वीकृति विना पर्यटक भिसामा कम्बोडिया गई लामो समयदेखि बसेको वा त्यहाँ कुनै अप्ठ्यारो अवस्थामा परेको भए जानकारी गराउन पनि दूतावासले परिवारजनलाई अपिल गरेको छ । यस्तो जानकारी बैंककस्थित नेपाली दूतावासमा वा नेपालमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरमा उपलब्ध गराउन सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८३ १८:१०