close

२४ हजार लाइसेन्स वितरण गर्दै यातायात कार्यालय जनकपुर, सेवाग्राहीलाई आफ्नो नाम खोज्नै सास्ती

टेकपाना टेकपाना

बैशाख २३, २०८३ १५:११

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जनकपुरधामले सोमबारदेखि झन्डै २४ हजार थान क्यूआरयुक्त सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण सुरु गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै सेवाग्राहीलाई कार्ड वितरण गर्न लागिएको जानकारी दिएको हो ।

कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, “यस कार्यालयमा प्राप्त स्मार्ट कार्डहरूको विवरण देहायअनुसार छ । आफ्नो नाम यकिन गरी सवारीचालक अनुमतिपत्र बुझ्न आउँदा सक्कल रसिद वा पुरानो लाइसेन्स आफूसँगै अनिवार्य लिएर आउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

तर, कार्यालयले सेवाग्राहीलाई सहज रूपमा आफ्नो नाम फेला पार्ने विकल्प भने दिएको छैन । नागरिक एप वा यातायात व्यवस्था विभागको वेबसाइटमा ‘कार्ड छापिएको’ जानकारी देखाए पनि कार्यालयले सार्वजनिक गरेको सूचीमा नाम नभएसम्म तत्काल कार्ड पाइँदैन । त्यसैले कार्ड लिन जानुअघि सूचीमा आफ्नो नाम भएको सुनिश्चित गर्नुपर्ने हुन्छ ।

यसका बाबजुद यातायात व्यवस्था कार्यालय जनकपुरधामले भने उक्त सूची आफ्नो फेसबुक पेजमा निकै अव्यवस्थित तरिकाले राखेको छ । कार्यालयले झन्डै ५१७ पृष्ठ लामो पीडीएफ फाइललाई फोटोमा परिणत गरी छुट्टाछुट्टै पोस्टमार्फत फेसबुकमा अपलोड गरेको छ ।

यसरी फोटोबाट आफ्नो नाम खोज्न सेवाग्राहीलाई निकै सकस भइरहेको छ । फोटोमा नाम ‘सर्च’ गर्ने सुविधा नहुने र एक-एक गरी हेर्न पनि असम्भव प्रायः हुन्छ । त्यसमाथि सेवाग्राहीको नाम र थर छ्यासमिस तरिकाले राखिएकाले नाम खोज्न झनै सास्ती खेप्नुपरेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।

सेवाग्राहीको यही गुनासोपछि टेकपानाले कार्यालय र विभागको वेबसाइटमा उक्त पीडीएफ फाइल खोज्दा कतै फेला पारेन ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८३ १५:३३