काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा बोर्डको आधिकारिक वेबसाइट डाउन भएको छ । नतिजा हेर्नका लागि सरकारले ‘see.gov.np’ र ‘neb.gov.np’ गरी दुई ओटा आधिकारिक सरकारी वेबसाइटको व्यवस्था गरेको छ ।
यसबाहेक सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि नतिजाका लागि छुट्टै प्लेटफर्म उपलब्ध गराएको छ । तर, यतिबेला neb.gov.np खोल्न खोज्दा वेबसाइट नखुलेर ‘502 Bad Gateway’ भन्ने त्रुटिको सूचनामात्र देखिन्छ ।
प्राविधिक रूपमा ‘५०२ ब्याड गेटवे’ त्रुटि सामान्यतः नेटवर्कहरूबिचको कनेक्सन असफल हुँदा देखिन्छ । यसको अर्थ प्रोक्सीको रूपमा काम गर्ने सर्भरले डेटा लिनका लागि मुख्य ‘ब्याकइन्ड सर्भर’ सँग सम्पर्क गर्न खोज्दा मुख्य सर्भरले इन्भ्यालिड रेस्पोन्स (अमान्य प्रतिक्रिया) दिएको भन्ने बुझिन्छ । यद्यपि, बोर्डको वेबसाइटमा देखिएको यो समस्याको यकिन कारणबारे आधिकारिक जानकारी प्राप्त भइसकेको छैन ।
नेपाल टेलिकमको पोर्टल www.see.ntc.net.np पनि खुल्न सकेको छैन । साइट खोलदा 'This site can’t be reached' भन्ने सन्देश देखापर्छ ।
राष्ट्रिय परीक्षा बोर्डका एक प्रतिनिधिले एसईईको नतिजा केहीबेरमा सार्वजनिक गरिने जानकारी दिएका छन् । तर, प्राविधिक व्यवस्थापन र डेटा अपलोडको प्रक्रियामा समय लाग्ने भएकाले विद्यार्थीले राति ९ बजेपछि मात्रै विभिन्न माध्यममार्फत नतिजा हेर्न सक्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ २०:२४
