close

एनवाइईएफ स्टार्टअप अवार्ड्समा १५० भन्दा बढी आवेदन प्राप्त, ७८% स्टार्टअप प्रविधिमा आधारित

टेकपाना टेकपाना

बैशाख २८, २०८३ २२:५६

एनवाइईएफ स्टार्टअप अवार्ड्समा १५० भन्दा बढी आवेदन प्राप्त, ७८% स्टार्टअप प्रविधिमा आधारित

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको पाँचाै सस्करणको ‘एनवाइईएफ स्टार्टअप अवार्ड्स’ कार्यक्रमका लागि १५० भन्दा बढी स्टार्टअप‍ले आवेदन दिएका छन् ।

मञ्चले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका १४ विभिन्न स्थानबाट स्टार्टअपको सहभागिता जुटेको जानकारी दिएको छ । आयोजकका अनुसार कुल आवेदनहरूमध्ये ७८ प्रतिशत प्रविधिमा आधारित ‍छन् । जसअन्तर्गत एडटेक, एग्रिटेक, हेल्थटेक, फिनटेक, ई-कमर्स लगायतका क्षेत्रका स्टार्टअप छन् ।

आवेदन दिने स्टार्टअपहरूमध्ये ९४ प्रतिशत एकदेखि तीन वर्ष पुराना छन् भने ५५ प्रतिशत त एक वर्ष मात्र पुगेका नयाँ उद्यमहरू हुन् । भौगोलिक हिसाबले ६० प्रतिशत आवेदन काठमाडौँ उपत्यकाबाट र ४० प्रतिशत उपत्यका बाहिरका पोखरा, जनकपुर, विराटनगर, धनगढी लगायतका सहरबाट प्राप्त भएका छन् ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी सूचना प्रविधि (३१%) क्षेत्रका स्टार्टअप छन् । त्यसैगरी उत्पादन (१९%), शिक्षा (१५%), सेवा (११%), कृषि (७%), स्वास्थ्य (४%), पर्यटन (४%) र व्यापार (९%) क्षेत्रका उद्यमीहरूको पनि सहभागिता रहेको छ ।

छनोट प्रक्रिया अन्तर्गत शर्टलिस्टमा परेका स्टार्टअपहरूका लागि गत बुधबार ओरिएन्टेसन सेसन सञ्चालन गरिएको थियो । त्यसपछि उनीहरूलाई सघन मेन्टरशिप र तालिमका लागि बुटक्याम्पमा सहभागी गराइनेछ । अवार्डको अन्तिम प्रतिस्पर्धा (ग्रान्ड फिनाले) आगामी १७ जेठ (मे ३१) का लागि तय गरिएको छ ।

अवार्डका विजेताहरूले राष्ट्रियस्तरको पहिचान, सफल उद्यमीहरूबाट मेन्टरसिप, लगानीकर्ताहरूसँग नेटवर्किङको अवसर र नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

नयाँ र सम्भावना बोकेका स्टार्टअपहरूलाई पहिचान गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले सन् २००३ देखि नै एनवाइईएफले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । हाल यस संस्थामा नेपालभरका १४ ओटा च्याप्टरमार्फत एक हजारभन्दा बढी युवा उद्यमीहरू आबद्ध छन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ २२:५८