‘ओप्पो ए सिक्स सी’ नेपाली बजारमा आउँदै, ७ हजार एमएएच ब्याट्रीको आयु ६ वर्षसम्म टिक्ने दाबी
बैशाख २९, २०८३ १८:४४
काठमाडौँ । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ‘ओप्पो ए६सी’ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । बजेट सेग्मेन्टअन्तर्गत भित्रिन लागेको यो मोडेल ४ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सनमा उपलब्ध हुनेछ ।
फोनको मुख्य विशेषता ७,००० एमएएच क्षमताको ब्याट्री हो । १५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने फोनको ब्याट्री हेल्थ ६ वर्षसम्म टिक्ने कम्पनीले दाबी गरेको छ ।
डिस्प्लेतर्फ यसमा १२० हर्ज रिफ्रेस रेटयुक्त ६.७५ इन्चको एचडी प्लस एलसीडी डिस्प्ले दिइएको छ । ९०० निट्ससम्मको पिक ब्राइटनेस भएका कारण चर्को घाममा पनि स्क्रिन स्पष्ट देखिने ओप्पोको विज्ञप्तिमा उल्लेख छ ।
एन्ड्रोइड १५ मा आधारित कलर ओएस सफ्टवेयर रहेको फोनमा टी-७२५० अक्टाकोर चिपसेट प्रयोग गरिएको छ ।
क्यामरातर्फ फोनको पछाडि १३ मेगापिक्सेलको मुख्य क्यामरा र अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । “यसमा रहेको एआई क्लियर फेस फिचरले तस्बिरलाई थप स्पष्ट र आकर्षक बनाउँछ भने ‘एआई इरेजर’ मार्फत फोटोमा नचाहिएका वस्तु वा व्यक्तिलाई हटाउन सकिन्छ,” कम्पनीले विज्ञप्तिमा भनेको छ ।
फोनमा पोर्ट्रेट, नाइट मोड, एआई रिटच, गुगल लेन्स जस्ता सुविधा पाउन सकिन्छ । साथै, ‘हाई-रेज’ मोड प्रयोग गरी ५० मेगापिक्सेलसम्मको गुणस्तरमा फोटो खिच्न सकिने दाबी गरिएको छ ।
सुरक्षाका लागि यसमा साइड-माउन्टेड फिंगरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा छन् । धुलो र पानीबाट जोगाउन यसलाई आईपी६४ रेटिङ दिइएको छ । कनेक्टिभिटीका लागि वाई-फाई ५, ब्लुटुथ ५.२, यूएसबी टाइप-सी पोर्ट र ३.५ एमएम हेडफोन ज्याक उपलब्ध छ ।
नेपाली बजारमा यो फोन ‘ह्वाइट’ र ‘स्टोन ब्राउन’ रङमा उपलब्ध हुनेछ । फोन सार्वजनिक हुने मिति र आधिकारिक मूल्यका बारेमा चाँडै जानकारी दिइने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८३ १९:४०
