काठमाडौँ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नेपाली नोट छापेर कारोबार गर्ने गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नोट छाप्ने उपकरण र नक्कली नोटसहित बिहीबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला ककरहवा बस्ने ३८ वर्षीय अब्दुल हमिदा र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना बस्ने २२ वर्षीय अनिल पासी (बिक्की) रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट एउटै नम्बर (ङ २५ ०२४९१२) भएका ५०० दरका ३० थान तयारी नक्कली नोट र १००, ५०० तथा १००० दरका प्रिन्ट भएर काट्न बाँकी रहेका ७ थान ठुला सिटहरू बरामद गरेको छ । साथै, नोट उत्पादनमा प्रयोग गरिने कम्प्युटरको सीपीयू, मनिटर, एउटा रङ्गीन प्रिन्टर, चार रिम कागज, दुई वटा मोबाइल र नोट काट्न प्रयोग गरिने कैँची समेत दसीका रूपमा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले आरोपीहरूमाथि मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा उनीहरूले योजनाबद्ध रूपमा नक्कली नोट छापेर बजारमा पठाउने गरेको देखिएको भन्दै चन्दले बजारमा अन्य नक्कली नोटहरू पनि पुगेको हुन सक्ने आशङ्कामा अनुसन्धानलाई तीव्र पारिएको बताए ।
पछिल्लो अध्यावधिक: जेठ ८, २०८३ २२:४०
