close

आईफोन र आईप्याडमा अब थ्रीडी साउन्डमा नेटफ्लिक्स हेर्न पाइने, यस्तो छ तरिका

टेकपाना टेकपाना

भदौ ८, २०७८ १९:३

आईफोन र आईप्याडमा अब थ्रीडी साउन्डमा नेटफ्लिक्स हेर्न पाइने, यस्तो छ तरिका

काठमाडौं । आईफोन र आईप्याड प्रयोगकर्ताका लागि नेटफ्लिक्सले हालै ‘स्पेशल अडियो’ (Spatial Audio) सिस्टम सार्वजनिक गरेको छ । स्पेशल अडियो प्रविधिबाट अब नेटफ्लिक्समा भिडिओ हेर्दा प्रयोगकर्तालाई उक्त भिडिओको आवाज चारैतिरबाट आइरहेको महसुस गराउने छ ।

एयरपड्स प्राे र एयरपड्स म्याक्स प्रयोग गरी तपाईंले आईफोन र आईप्याडमा नेटफ्लिक्समा भएका भिडिओ हेर्नुभएको खण्डमा थ्रीडी अडियोको मज्जा लिन सक्नुहुन्छ । यसको अर्थ उक्त प्रविधिले प्रयोगकर्ताको टाउकोको अवस्था अनुसार अडियो मिलाउने छ ।

नेटफ्लिक्सले आधिकारिक रुपमा यो प्रविधिको विषयमा जानकारी दिनुअघि नै रेडिट प्रयोगकर्ताले यसबारे जानकारी बाहिर ल्याएका थिए । तर, पछिल्ला केही दिनदेखि नेटफ्लिक्स एपमा याे सेवा उपलब्ध भइसकेको छ ।

यद्यपि स्पेशल अडियो सुन्नका लागि तपाईंसँग आईफोन ७ भन्दा माथिका अथवा आईओएस १४ मा आधारित डिभाइस हुनुपर्नेछ । साथै नेटफ्लिक्स एप अपडेट गर्न पनि आवश्यक छ । यदि त्यो भएको खण्डमा तपाईंले नेटफ्लिक्स खोल्दा स्पेशल अडियो डिभाइसको कन्ट्रोल भेट्नु हुनेछ ।

यसरी सुन्नुहोस् नेटफ्लिक्समा स्पेशल अडियो

  • सुरुमा आईफोन अथवा आईंप्याडमा एयरपड्स प्रो अथवा एयरपड्स म्याक्स कनेक्ट गर्नुहोस् ।
  • अब नेटफ्लिक्स एप खोल्नुहोस् र सराउन्ड साउण्ड मिक्सिङ अडियो भएको भिडिओ खोज्नुहोस् ।
  • अब ‘कन्ट्रोल प्यानल’ खोल्नुहोस् ।
  • अडियो विकल्प खोल्न भाेल्युम स्लाइडरमा लामो प्रेस गर्नुहोस् ।
  • यसलाई अन गर्न ‘स्पेशल अडियो’ अप्सनमा क्लिक गर्नुहोस् ।
  • आईप्याडओएस/आईओएसको ब्लुटुथ सेटिङमा गएर पनि तपाईंले स्पेशल अडियो अन गर्न सक्नुहुन्छ । ब्लुटुथ लिस्टमा ‘डिभाइस नेम’ सँगै रहेको ‘आइ’ आइकनलाई क्लिक गरी स्क्रोल गर्दै स्पेशल अडियो सेटअप गर्न सक्नुहुनेछ ।

याद राख्नुहोस्, स्पेशल अडियो सक्रिय भएको अवस्थामा पनि यसले नेटफ्लिक्समा भएका सबै भिडिओ सपोर्ट गर्दैन । स्पेशल अडियो नेटफ्लिक्समा भएका टिभी प्रोग्राम र फिल्ममा मात्र उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१