काठमाडौं । नेपालमा डिजिटल तथा अनलाइन पेमेन्ट सुरु गर्ने डिजिटल वालेटको स्थान क्रमशः मोबाइल बैंकिङले लिन थालेका छन् । कारोबार रकममा अघिल्लो वर्षदेखि नै अघि रहेको मोबाइल बैंकिङ सेवाल चालु आर्थिक वर्षदेखि कारोबार संख्यामा समेत मोबाइल वालेटलाई पछि पारेको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार मात्र मुलुकको विद्यमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार डिजिटल वालेटको तुलनामा मोबाइल बैंकिङको प्रयोग आकासिएको हो ।
२०७७ को साउनमा ७ अर्ब ३३ करोड ९० लाख रुपैयाँ रहेको डिजिटल वालेटको कारोबार एक वर्षपछि अर्थात गएको असारमा आइपुग्दा ६९ प्रतिशतले बढेर १२ अर्ब ७९ करोड पुगेको छ । जब कि यही अवधिमा मोबाइल बैंकिङको कारोबार १८ अर्ब ८३ करोड ९० लाखबाट ३०१ प्रतिशतले बृद्धि हुँदै ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ नाघेको देखिन्छ ।
क्यूआर कोड भुक्तानी विस्तारसँगै मोबाइल बैंकिङबाटै वालेटबाट गर्न सकिने सबै भुक्तानी सम्भव हुन थालेका छन् । जसले गर्दा डिजिटल वालेटलाई मोबाइल बैंकिङले छायाँमा पार्दै गएको हो ।
स्रोतः नेपाल राष्ट्र बैंक
यसका साथै भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) ले तयार पारेका मर्चेन्ट समेत मोबाइल बैंकिङ एपमै जोडिन थालेका छन् । बिजुलीको बिल, मोबाइल टपअप तथा रिचार्ज, खानेपानीको बिल, इन्टरनेटको शुल्क, शेयर बजारको भुक्तानी, किस्ताबन्दी जस्ता भुक्तानी मात्र होइन, सरकारी राजस्व समेत इन्टरनेट बैंकिङमै उपलब्ध हुन थालेको छ ।
यसरी मोबाइल बैंकिङ सेवा लोकप्रिय हुँदै गएसँगै डिजिटल वालेटको भविष्य के हुने भन्ने प्रश्न उब्जिन सुरु भएको हो । मोबाइल बैंकिङको बढ्दो प्रयोगले डिजिटल वालेटको विस्तार सुस्त बनाएको भए पनि ब्रेक भने लागिसकेको छैन ।
कारोबार रकममा अघिल्लो वर्ष नै पछि परेका वालेट अहिले आएर कारोबार संख्यामा समेत पछाडि देखिएका छन् । गएको वैशाख यता मोबाइल बैंकिङको कारोबार संख्याले डिजिटल वालेटको कारोबार संख्यालाई लगातार रुपमा पछाडि पारेको देखिन्छ ।
पछिल्लो पटक गएको असार महिनामा मात्रै मोबाइल बैंकिङबाट एक करोड ३७ लाख ९९३ ओटा कारोबार भएका छन् । तर वालेटबाट सोही अवधिमा केवल एक करोड २५ लाख १५ हजार ९०४ ओटा मात्र कारोबार भएको देखिन्छ ।
जब कि गत वर्षको असारमा मोबाइल बैंकिङबाट ५८ लाख १७ हजार ६८१ पटक कारोबार हुँदा डिजिटल वालेटबाट एक करोड एक लाख ७९ हजार ५५७ ओटा कारोबार भएका थिए ।