काठमाडौं । अब हुलाकमार्फत नै सम्बन्धित व्यक्तिको घरमै राहदानी पुग्ने भएको छ ।
बुधबार राहदानी विभाग र हुलाक सेवा विभागबीच हुलाकमार्फत सम्बन्धित जिल्ला, इकाई प्रशासन कार्यालयबाट राहदानी ओसारपसारका लागि सम्झौता भएको हो ।
यो सँगै अब राहदानी लिनका लागि सम्बन्धित कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य भएको छ ।
सम्झौता अनुसार हुलाक कार्यालयले राहदानी विभागले तोकेको व्यक्ति तथा संस्थामा राहदानी पुर्याउनु पर्नेछ ।
त्यसका साथै हुलाकले राहदानी खामिएका पुलिन्दा (पोका) हरू एक दिनको अन्तरालमा राहदानी विभागबाट उठाएर सम्बन्धित गन्तव्यमा पुर्याउनु पर्ने बताइएको छ ।
त्यसरी उठाइएको राहदानीको सुरक्षा हुलाक विभागले गर्नुपर्ने जनाइएको छ । त्यसका लागि ट्रयाकिङ बार कोड जडान गरी ट्रयाकिङ कोडका आधारमा सामानको निगरानी गर्नुपर्ने व्यवस्था सम्झौतामा गरिएको छ । सम्झौता अनुसार राहदानी तोकिएको स्थानमा सात दिनभित्र पुर्याउनु पर्नेछ ।
‘ओसार पसार गरिने राहदानी जिल्लागत/इलाकागत हिसाबले रजिस्ट्री पुलिन्दाका रुपमा हुलाकले दर्ता गर्नेछ । यसरी भएको पुलिन्दा सम्बन्धित गन्तव्यमा असहज परिस्थिति बाहेक अधिकतम एक साताभित्र पुर्याउनुपर्नेछ,’ उक्त सम्झौतामा भनिएको छ ।