काठमाडौं । गुगलसँगको सहकार्यमा आउने जियोफोन नेक्स्ट सार्वजनिक हुने पूर्वनिर्धारित कार्यतालिका पर सरेको छ । यसअघि सेप्टेम्बर १० मा जियो फोन आउने बताइएको थियो । मोबाइल परिस्कृत गर्न थप समय आवश्यक भएको र सेमिकन्डक्टरको विश्वव्यापी अभावका कारण उत्पादन सार्वजनिक हुन ढिलाई भएको हो ।
अब जियो फोन सार्वजनिक हुने मिति दिपावली आसपासका लागि सरेको छ । यो फोन हाल सानो सङ्ख्याका प्रयोगकर्तामाझ परीक्षणको क्रममा रहेको बताइएको छ ।
३० करोड सङ्ख्यामा रहेका भारतीय टुजी प्रयोगकर्तालाई फोरजीमा अपग्रेड गर्ने उद्देश्यका साथ सस्तो स्मार्टफोनको रुपमा यसको डिजाइन गरिएको छ । गत जुनमा यो फोनको घोषणा हुँदा जियोको अभिभावक कम्पनी रिलायन्सले यसमा भ्वाइस असिस्टेन्ट, अग्मेन्टेड रियालिटी र ट्रान्सलेसन फिचर रहने बताएको थियो ।
यो सबै एन्ड्रोइडको अप्टिमाइज गरिएको अपरेटिङ सिस्टममा आधारित हुनेछ । एक्सडीए डेभलपर्सका अनुसार जुन एन्ड्रोइड गोसँग सम्बन्धित रहेको छ । यो फोनमाथि भइरहेको कामको विषयमा पहिलोपटक सन् २०२० मा घोषणा गरिएको थियो ।
त्यतिखेर गुगलले जियोमा ४५ लाख अमेरिकी डलर लगानीको घोषणा गरेको थियो । सहकार्यको एउटा हिस्साको रुपमा रिलायन्सले यस वर्षको सुरुवाती समयमा आफ्नो रिटेल बिजनेसलाई गुगल क्लाउड पूर्वाधारमा स्थानान्तरण गर्ने घोषणा गरेको थियो ।