काठमाडौं । सीजी फाउन्डेसनले बनायो नौ जिल्लाका २३ विद्यालयमा डिजिटल कक्षा कोठा काठमाडौं । चौधरी समूहले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सीजी फाउन्डेसनमार्फत नौ जिल्लामा डिजिटल कक्षाकोठा विस्तार गरेको छ ।
ग्रामीण क्षेत्रका विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने सोचका साथ सन् २०१७ मा सुरु भएको यो अभियान अन्तर्गत फाउन्डेसनले हालसम्म नौ जिल्लाका २३ विद्यालयमा डिजिटल कक्षाकोठा स्थापनाको काम सम्पन्न गरेको हो । कम्पनीका महाप्रबन्धक मधुसुदन पौडेलका अनुसार यो अभियान अन्तर्गत नवलपुरका दशवटा विद्यालय, सुनसरीका तीन र बर्दिया, पर्वत र पाल्पाका दुई/दुई विद्यालयहरूमा डिजिटल कक्षाकोठा स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
सिन्धुपाल्चोक, चितवन, धादिङ र कास्कीमा भने एक/एक ओटा विद्यालयमा यस्तो कक्षा कोठा स्थापना गरिएको छ । डिजिटल कक्षा कोठाको निर्माण गरिएका विद्यालयहरूमा नवलपुरको शान्ति सृजना बेसिक लेभल स्कुल, कालिका प्राइमरी स्कुल, अहिंसावादी महाबौद्ध अर्फान स्कुल, भानोदय माध्यामिक विद्यालय, नेपाल शान्ति माध्यमिक विद्यालय, जनविकास विद्याश्रम माध्यमिक विद्यालय, जनता उच्च माध्यमिक विद्यालय, बेलभन्ज्याङ माध्यमिक विद्यालय, गुरुकुल शास्वत् धाम र त्रिभुवन माध्यमिक विद्यालय रहेका छन् ।
त्यस्तै सुनसरीका सरस्वती माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय र शिक्षा सदन माध्यमिक विद्यालयमा पनि हाल डिजिटल कक्षा चलिरहेका छन् । बर्दियाको शिव माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालय, पाल्पाको गङ्गा माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालय, पर्वतको जननेत्र माध्यमिक विद्यालय र नवज्योति थाम माध्यमिक विद्यालयमा पनि डिजिटल कक्षा सञ्चालन भइरहेका छन् ।
यी बाहेक कास्कीमा बिरेठाँटी माध्यमिक विद्यालय, धादिङमा सेतीदेवि माध्यमिक विद्यालय, चितवनमा साझापुर माध्यामिक विद्यालयमा र सिन्धुपाल्चोकको महाकाली माध्यमिक विद्यालयमा डिजिटल कक्षामा अध्ययन अध्यापन कार्य भइरहेको छ । ‘विश्व अब डिजिटल युगतिर लागिरहेको बेला देशको शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्ने उद्देश्य सहित देशका ग्रामीण क्षेत्रका विद्यालयहरूमा हामीले डिजिटल कक्षा स्थापना गर्ने उद्देश्य सहित व्यावसायिक सामाजिक उत्तरदायित्वको रुपमा यो अभियान सुरु गरेका हौं,’ पौडेलले भने ।
उनका अनुसार यो अभियान अन्तर्गत विद्यालयमा अडियो/भिडिओ कक्षा स्थापनाका लागि आवश्यक ल्यापटप, डेस्कटप लगायतका सामग्रीको व्यवस्थापन गरिएको छ । त्यसैगरी प्रविधिको माध्यमबाट कक्षा सञ्चालन गर्न सम्बन्धित विद्यालयका शिक्षकहरूलाई तालिमको समेत व्यवस्था गरिएको उनको भनाई छ ।
ग्रामीण क्षेत्रका सरकारी विद्यालयमा डिजिटल कक्षा स्थापना गर्ने यो अभियान हरेक वर्ष विस्तार गर्दै जाने उनले बताए । ‘ग्लोबल सिटिजन नारासहित विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य छ । हाम्रो देशका विद्यार्थीहरूलाई पनि विश्वस्तरको शिक्षासम्म पहुँच दिलाउनका लागि यो अभियान अगाडि बढाएका हौँ,’ पौडेलले भने ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५
