काठमाडौँ। दुई घण्टा भित्रको अवधिमा पानी पर्छ कि पर्दैन भनेर अब आर्टिफिसिएल इन्टेलिजेन्सले अनुमान गर्न सक्ने एक अनुसन्धानले देखाएको छ । गुगलको स्वामित्वमा रहेको लन्डनको एआई ल्याब डिपमाइण्ड र एक्सटर विश्वविद्यालयको सहकार्यमा मेट अफिस नामक संस्थाले नाउकास्ट भनिने एउटा प्रणाली तयार भएको छ ।
अहिले चलनचल्तीमा रहेको वर्षाको अनुमान गर्ने प्रणालीले सामान्यतया ६ घण्टापछि र दुई हप्तासम्म वर्षाको अनुमान गर्न सक्छ । अहिले तयार भएको प्रणालीले भने छोटो अवधिमा पनि वर्षाको सही अनुमान गर्न सक्ने बताइएको छ । यसका साथै, यो प्रणालीले पानी पर्ने नपर्ने बाहेक आँधी र बाढीको पनि पूर्वानुमान गर्न सक्छ ।
जलवायु परिवर्तनसँगै खराब मौसमको पूर्वानुमान गर्न गाह्रो पर्दै गएको छ । छोटो अवधिमा गर्न सकिने पूर्वानुमानले मानिसलाई सुरक्षित रहन मद्दत गर्ने मेट अफिसका उत्पादन अन्वेषणका प्रमुख नियाल रोबिन्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले जनाएको छ ।
बेलायतको राडार म्याप प्रयोग गरी यो प्रणाली पानी पर्ने पद्धतिको बारेमा अपडेट भएको जनाइएको छ । यो प्रणालीमा सन् २०१६ देखि २०१८ सम्मको डेटा राखेर विश्लेषण गरिएको थियो । यसले गर्ने अनुमान ८९ प्रतिशत सम्म प्रभावकारी रहेको अध्ययनमा संलग्न विज्ञहरूले जनाएका छन् । यो प्रणाली अहिले प्रारम्भिक चरणमा रहेको भए पनि भविष्यमा एआईको प्रयोग गरी प्रभावकारी मौसम अनुमान गर्न सकिने सम्भावना भने देखिएको अध्ययनमा संलग्न विज्ञहरूले बताएका छन् ।