close

माइक्रोसफ्टको बिङमा पनि ‘गुगल’ शब्द धेरै खोजिएको गुगलको दाबी

टेकपाना टेकपाना

असोज १५, २०७८ १८:७

माइक्रोसफ्टको बिङमा पनि ‘गुगल’ शब्द धेरै खोजिएको गुगलको दाबी

काठमाडौं-आफ्नो प्रतिस्पर्धी सर्च इन्जिन बिङमा पनि ‘गुगल’ शब्द धेरै खोजिएको दाबी गुगलले गरेको छ । गुगलको यस्तो दाबी अदालतमा गरेको हो । यूरोपियन युनियनले गुगलमाथि ५ अर्ब डलर क्षतिपूर्ति दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । गुगलले आफ्नो शक्तिको दुरुपयोग गर्दै बजार प्रभावित पारेको भन्दै यूरोपियन युनियनले क्षतिपूर्ति भराउनुपर्ने माग गर्दै मुद्दा दायर गरेको हो ।

यूरोपियन युनियनले एन्ड्रोइड फोनको लोकप्रियतालाई दुरुपयोग गर्दै स्मार्टफोनमा गुगललाई डिफल्ट सर्च इन्जिनको रूपमा प्रयोग गर्न बाध्य पारेको आरोप लगाएको छ ।

तर, गुगलले भने आफ्नो सर्च इन्जिनलाई डिफल्ट बनाउन बाध्य नपारेको दाबी गर्दै यो आफैँमा लोकप्रिय भएको दाबी गर्दै आएको छ ।

यूरोपियन युनियनको जेनेरल कोर्टमा गुगलको पक्षमा बहस गर्दै अधिवक्ता अल्फोस्नो लामाड्रिडले भनेका छन्,‘माइक्रोसफ्टको सर्च इन्जिन बिङमा पनि सबैभन्दा धेरै सर्च हुने शब्द गुगल नै हो ।’ अधिवक्ता लामाड्रिडलाई उद्धृत गर्दै ब्लुमवर्गले लेखेको छ । 

अदालतमा पेस गरिएको प्रमाणमा विभिन्न सर्वेक्षणमा ९५ प्रतिशत मानिसले सई इन्जिनको रूपमा गुगललाई प्रयोग गर्ने दाबी गरिएको छ ।  

ठुलो क्षतिपूर्ति तिराउनुपर्ने माग गर्दै यूरोपियन युनियनले दायर गरेको मुद्दामा लगाइएको आरोप गुगलले अस्वीकार गर्दै आएको छ । 

तर, यूरोपियन युनियनको कम्पिटिसन कमिसन (बजार प्रतिस्पर्धा कायम राख्ने आयोग) ले भने गुगलले एन्ड्रोइड फोन उत्पादकलाई गुगल सर्च इन्जिन र क्रोम ब्राउजर इन्स्टल गर्नुपर्ने बाध्यकारी नियम बनाएको र केही उत्पादकलाई अन्य एप नराखी बजार पठाउन पैसा समेत दिने गरेको आरोप लगाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५