काठमाडौं । साझा यातायातले ४० ओटा नयाँ विद्युतीय बस खरिद गर्ने भएको छ । शुक्रबार कम्पनीले विद्युतीय बस खरिदका लागि चीनको सीएचटीसी कम्पनीसँग सम्झौता गरेको हो ।
बस, चार्जर र पाँच वर्षसम्मको मर्मत सम्भार कम्पनीले नै गर्ने गरी सम्झौता भएको छ । साझा यातायातले ४० ओटा विद्युतीय बस, २० ओटा चार्जर, तालिम, मर्मत सम्भार र स्पेयर पार्टस्का लागि करिब ५२ करोड रुपियाँ भुक्तानी गर्ने जनाइएको छ ।
कम्पनीले सुरुमा तीन ओटा बस चार महिनाभित्र ल्याउने छ । साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले काठमाडौंमा परीक्षण गरेपश्चात् बाँकी बस ल्याइने बताए ।
२६ सिट क्षमताका यी अपाङ्गतामैत्री बसहरू एक पटक चार्ज गर्दा ४२ जना यात्रु लिएर दुई सय किलोमिटर गुड्नेछन् । ललितपुर महानगरपालिकाको सहकार्यमा थप चार ओटा विद्युतीय बसको खरिद प्रक्रिया पनि अघि बढाइएको छ ।
साझाले पुराना डिजेल बसलाई विद्युतीय रूपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अगाडि बढाइरहेको तुलाधरले जानकारी दिए । साझा यातायातलाई विद्युतीय बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तीन अर्ब रुपैयाँ शेयर लगानी गरेको छ । साझाले सन् २०२५ भित्र आफ्ना सम्पूर्ण बसहरू प्रदूषणरहित बनाउने जनाएको छ ।