close

सामाजिक सञ्जालमा बालबालिकाको अकाउन्ट बनाउन अभिभावकको स्वीकृति लिनुपर्ने प्रस्ताव

टेकपाना टेकपाना

कात्तिक ९, २०७८ ७:०

सामाजिक सञ्जालमा बालबालिकाको अकाउन्ट बनाउन अभिभावकको स्वीकृति लिनुपर्ने प्रस्ताव

काठमाडौं । सामाजिक सञ्जालले १६ वर्षमुनीका बालबालिकालाई अकाउन्ट बनाउन अनुमति दिनुअघि अभिभावकको स्वीकृति लिनुपर्ने गरी नयाँ कानून बनाउन अष्ट्रेलियाले प्रस्ताव गरेको छ । प्रस्तावित कानूनमा यो प्रावधानको उल्लंघन गरे सामाजिक सञ्जाल कम्पनीलाई ७५ डलरसम्म जरिवाना लाग्ने व्यवस्था छ ।

चल्तीका सामाजिक सञ्जालसहित रेडिट, डेटिङ एप कम्पनीहरुले पनि यो नियमको पालना गर्नुपर्ने प्रस्तावित कानूनमा भनिएको छ । अष्ट्रेलिया सरकारले सोमबार सार्वजनिक गरेको अनलाइन प्राइभेसीसम्बन्धी कानूनको विधेयकमा सामाजिक सञ्जाल कम्पनीले अकाउन्ट बनाउन दिनुअघि प्रयोगकर्ताको उमेरको निक्र्यौल राम्ररी गर्नुपर्ने उल्लेख छ ।

यो प्रस्तावित कानून जस्ताको तस्तै पारित भए अष्ट्रेलिया सामाजिक सञ्जालको लागि कडा कानून भएको देश बन्नेछ । ‘हामी अष्ट्रेलियाको डेटा र गोपनीयता रक्षा होस् भन्ने सुनिश्चितता चाहन्छौं,’ अष्ट्रेलियाका महान्याधिवक्ता मिचेलिया क्यासले विज्ञप्ति जारी गर्दै भनेकी छन्,‘हाम्रो कानून नमान्ने कम्पनीहरुले ठूलो जरिवाना तिर्नुपर्ने हुन्छ ।’

प्रस्तावित कानूनमा गरिएको व्यवस्था अनुसार अष्ट्रेलियाको सूचना आयोगलाई प्रविधि कम्पनीले यो व्यवस्था पालना गरे नगरेको विषयमा अनुसन्धान गर्ने पूर्ण अधिकार रहनेछ । 

यसका साथै, आयोगलाई ७५ लाख अमेरिकी डलर वा कम्पनीको वार्षिक आयको १० प्रतिशतसम्म रकम जरिवाना गर्ने अधिकार हुने प्रस्तावित कानूनमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१