close

जहाज चढ्दा फोन किन ‘एयरप्लेन मोड’ मा राख्नुपर्छ ? यस्तो छ जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ २०:११

जहाज चढ्दा फोन किन ‘एयरप्लेन मोड’ मा राख्नुपर्छ ? यस्तो छ जान्नैपर्ने कुरा

काठमाडाैं । प्लेन अर्थात हवाई जहाजमा चढ्नासाथ मोबाइललाई एयरप्लेन मोडमा राख्नुपर्छ भन्ने कुरा तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । तर के तपाईंलाई थाहा छ, यस्तो बेला मोबाइललाई फ्लाइट वा एयरप्लेन मोडमा राख्नु किन अनिवार्य हुन्छ ? यदि फ्लाइट मोड अन गरिएन भने फ्लाइटलाई के असर पर्छ ?

प्लेनमा कुनै किसिमको गडबढी उत्पन्न त हुँदैन ? वास्तवमै यसको असर कस्तो हुनसक्छ ? आज हामी तपाईंलाई यसबारेमा बताउँदै छौं ।

वास्तवमा फोन, ट्याबलेट तथा विद्युतीय ह्याण्डसेटबाट आउने विद्युत चुम्बकीय तरङ्गलाई रोक्न फोनलाई स्विच अफ गर्न लगाइन्छ । तर आजभोलि पाइलट आफैंले आफ्नो आईप्याड तथा अन्य ट्याब्लेट विमानको ककपिटमा राखिरहेका हुन्छन् ।

आफ्नो पेपरवर्कका लागि ती उपकरण विमान चालकले प्रयोग गर्दछन् ।

यसबाहेक विमानका अन्य कर्मचारीहरुले पनि ठूला-ठूला फोन र ट्याबलेट प्रयोग गरिरहेका हुन्छन् । यसकारण ढुक्क भएर तपाईं आफ्नो फाेनलाई स्विच अन गर्न हत्तारिनुभएकाे छ भने, पख्नुहाेस् ।

वास्तवमा बुझ्नुपर्ने कुरा के छ भने विमानका कर्मचारीले प्रयोग गर्ने यी उपकरणले तरङ्ग सृजना गर्दैनन् । अर्थात् ती सबै परीक्षण भएका उपकरण हुन् ।

तर यी परीक्षण गरेका सबै उपकरण पनि सुरक्षित हुँदैनन् । २०११ मा केही बोइङ ७३७ विमानको फ्लाइट डेक स्क्रिनका केही विशेष मोडलका भागहरु तरङ्गित भएको देखिएकाे थियाे ।

विमानहरुमा इन्फ्लाइट इन्टरनेट प्रदान गर्न एकपटक व्यापक परीक्षण भएको थियो, तब उक्त परीक्षण प्रक्रियामा विमानभित्र एकदमै धेरै विद्युत चुम्बकीय तरङ्ग उत्पन्न भएको पाइएको थियो ।

जहाज यात्रामा फाेन फ्लाइट मोडमा राख्दा तपाईंले सेलुलर वाईफाई नेटवर्कको कनेक्सन गुमाउनुहुन्छ । यसपछि तपाईं फोन गर्न, म्यासेज पठाउन र सोसल मिडिया चलाउन सक्नुहुन्न ।

उडानको समयमा तपाईं टेलिफोन टावरहरूको पहुँचबाट बाहिर जानुहुन्छ । तर फ्लाइट माेड अन नराख्दा तपाईंको फोनले लगातार कनेक्सन खोजिरहेको हुन्छ ।

फोनले कनेक्सन फेला पार्न कोशिश गरिरहँदा शक्तिशाली इलेक्ट्रिकल सिग्नल पठाउँछ । यो सिग्नलको कारण पाइलटले आफ्नो हेडफोनमा कष्टकर आवाज सुन्न थाल्छ ।

साथै रेडियो तरंगहरूमा सञ्चारको भीडले पाइलटलाई जमिनमा टावरहरूसँग कुराकानी गर्न गाह्रो वा असम्भव बनाउन सक्छ ।

वास्तवमा प्लेन हावामा टेक अफ लिनासाथ नै पाइलटलाई तल जमिनमा रहेका टावरसँग सञ्चार गर्न सिग्नल प्राप्त हुन्छ ।

त्यसपछिको अवस्थामा जमिनमा हुने टावरहरुले पाइलटहरुलाई आवश्यक दिशानिर्देश गर्दछन् । यस्तो सञ्चार रेडियो फ्रिक्वेन्सीको माध्यमबाट हुने गर्दछ । पाइलटले हेडफोन लगाइरहेको त तपाईंले देख्नु भएकै होला ।

उक्त हेडफोनबाट पाइलटले कन्ट्रोल टावरको निर्देशन सुनिरहेको हुन्छ । जब प्लेनमा रहेको कुनै व्यक्तिले आफ्नो मोबाइलको फ्लाइट मोडमा नराख्दा त्यसमा रहेको सिमकार्डले जमिनमा रहेका मोबाइल टावरहरुको सिग्नल फेला पार्न स्क्यान वा सर्च गर्न थाल्दछ ।

मोबाइलमा हुने यस किसिमको गतिविधिले पाइलट र ग्राउन्ड स्टेसनबीचको सञ्चार सम्पर्कलाई बिगार्न वा असर पार्न सक्छ । अर्थात उक्त सञ्चार सम्पर्कलाई अवरुद्ध पार्ने कोशिश गर्दछ ।

जसले गर्दा पाइलटको हेडफोनमा तल ग्राउन्ड स्टेसनको कन्ट्रोल रुमको आवाजको साटो तपाईंको मोबाइलको फ्रिक्वेन्सी अवरोधले झिरझिर आवाज आउन थाल्दछ ।

जब प्लेनमा बसेका जति धेरै यात्रुहरुले आफ्नो मोबाइल फोनमा एयरप्लेन मोड अन गर्दैनन् भने त्यसले त्यतिनै मात्रामा पाइलट र कन्ट्रोल टावरबीचको सञ्चारलाई अवरोध गर्दै जान्छ, अनि पाइलटले प्राप्त निर्देशन सुन्नै नसक्ने अवस्था आउँछ ।

यसबाट पाइलटले अगाडिको मौसम कस्तो छ, कुनै अर्को फ्लाइट गइरहेको त छैन, यस्ता निकै महत्वपूर्ण सूचना पाइलटको कानसम्म पुग्न पाउँदैनन् ।

प्लेन चलाउने पाइलटको मात्र होइन, फ्लाइट सुरक्षित र सही दिशामा उचित रुपमा उड्नका लागि ग्राउन्ड स्टेसनमा हुने कन्ट्रोल रुमको समेत महत्वपूर्ण भूमिका हुने गर्दछ ।

यसबाहेक तपाईंको मोबाइलमा टावरको सिग्नल सर्च गर्ने क्रममा तात्ने समस्या पनि देखिन थाल्दछ । यी दुवै कारणले गर्दा फोनमा एयरप्लेन मोड राखिएको हुन्छ र उडानका दौरान त्यसलाई अन गर्नुपर्ने नियम बनाइएको हो ।

फोनलाई एयरप्लेन मोडमा नराख्दा के हुन्छ त ?

प्रत्येक फ्लाइटमा दैनिक दर्जनौं उपकरणहरु एयरप्लेन मोडमा हुँदैनन् भन्ने कुरा नियामक, एयरलाइन्स कम्पनी तथा विमान निर्माणकर्ता कम्पनी सबैलाई थाहा हुन्छ ।

किनभने डिभाइसमा एयरप्लेन माेड नराख्दा विमान आकाशबाट खस्दैन । सबै उपकरणले सबै किसिमका विमानलाई असर गर्न सक्दैन ।

तर कतिपय विमानहरु एकदमै संवेदनशील हुन्छन् । यसकारण फाेन तत्काल एयरप्लेन मोडमा राखिहाल्नुहोस् ।

फ्लाइट माेड अन गरी कुनै एप प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंको फोनको तरङ्गले विमान पल्टिहाल्छ भनेर चाहिँ बुझ्नुहुन्न । सुरक्षाका लागि यस्ताे पूर्वसावधानी अपनाएकाे हाे भनेर बुझ्नुपर्छ ।

यसकारण प्लेन उड्नुअघि आफ्नो डिभाइसहरु एयरप्लेन मोडमा छ कि छैन सुनिश्चित गर्नुहोस् । यात्रु जिम्मेवार भएको खण्डमा विमान तपाईंको घर वा कारको यात्राभन्दा धेरै सुरक्षित बन्न सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१