close

एक सफ्टवेयर इन्जिनियर, जो कोडिङ जागिरका लागि ३५७ पटक ‘रिजेक्ट’ भइन् !

टेकपाना टेकपाना

कात्तिक १३, २०७८ १८:१८

एक सफ्टवेयर इन्जिनियर, जो कोडिङ जागिरका लागि ३५७ पटक ‘रिजेक्ट’ भइन् !

काठमाडौं । बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरिरहँदा सोफिया चोङ अमेरिकाको क्यालिफोर्नियास्थित कोरियन बार्बिक्यु रेष्टुरेन्टमा काम गर्थिन् । आफ्नो स्नातकको पढाइ सकेपछि उनले सोही रेष्टुरेन्टमा असिस्टेन्ट जनरल म्यानेजरको पोस्ट पाइन् र केही समयपछि उनी त्यहाँको डिरेक्टर अफ अपरेसन्स पनि बनिन् ।

यो अवधिमा उनले आफ्नै सहकर्मीसँग कोडिङको विषयमा सिकिरहेकी थिइन् । उनी विस्तारै कोडिङमा आर्कषित हुँदै गइन् र सिक्नका लागि थप उत्साहित हुँदै गइन् ।

कोरोना महामारीको बेलामा लाखौं अमेरिकीले जागिर गुमाएजस्तै उनले पनि आफ्नो जागिर गुमाइन् । तर त्यो समय उनको लागि पेशा परिवर्तन गर्ने एउटा अवसर पनि बन्यो ।

त्यसपछि जागिरबाट कमाएर जोगाएको पैसाले उनले १३ हप्ते सफ्टवेयर इन्जिनियरिङ बुट क्याम्पमा सहभागी भइन्, जहाँ उनले करिब एक हजार घण्टाको कोडिङ कोर्ष पुरा गरिन् । यो कोर्ष सकेको एक हप्तालगत्तै उनी जागिर खोज्नतिर लागिन् ।

हरेक दिन उनी बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म हरेक प्रकारको सफ्टवेयर इन्जिनियरिङको सुरुवाती जागिर अथवा इन्टर्नशिपको लागि आवेदन दिने गर्थिन् । यसरी उनले करिब १८ वटा देशमा आवेदन दिएकी थिइन् ।

आवेदन दिने, अन्तर्वार्तामा सहभागी हुने उनको दैनिकी बनेको थियो । आफू यो क्षेत्रमा नयाँ नै भए पनि करिब एक महिनासम्ममा जागिर पाउने कुरामा उनी ढुक्क थिइन् । तर विस्तारै उनको एक महिनाको समय दुई महिना, तीन महिना हुँदै ६ महिनामा परिणत भयो । तर उनले कुनै ठाउँबाट जागिरको अवसर पाइनन् ।

बजारमा प्रविधि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव छ भन्ने कुरा उनको लागि गलतजस्तै सावित भइसकेको थियो । किनभने यो ६ महिनाको बीचमा उनले ४० कम्पनीमा अन्तर्वार्ता दिइसकेकी थिइन् र ३५७ पटक रिजेक्ट भएकी थिइन् ।

धेरैजसो कम्पनीले उनले आफ्नो पेशा किन परिवर्तन गर्न लागेको र उनको सेवा क्षेत्रको अनुभवले प्रविधि क्षेत्रमा कसरी मद्दत गर्न सक्छ र भनेर जिज्ञासा राख्ने गरेको इन्साइडरसँगको कुराकानीमा बताएकी छन् । अनि प्रत्येकपटक आफूभन्दा अरू आवेदक सिनियर र अनुभवी भएको भन्दै आफू रिजेक्ट भएको बताइन् ।

यत्रो प्रयास गर्दा पनि केही उपलब्धि नभएपछि उनले फेरि रेष्टुरेन्टकै जागिरमा फर्कने सोचेकै बेला उनलाई दुई वटा ठाउँबाट जागिरको अफर आयो । जसमध्ये एउटा अवसर होम (homee) भन्ने कम्पनीबाट जुनियर सफ्टवेयर इन्जिनियरका लागि थियो, जहाँ उनलाई उनको पहिलेको रेष्टुरेन्टको कमाइको करिब १२० प्रतिशत बढी तलबको अफर आएको थियो ।

‘बजारमा काम गर्ने मान्छेको अभाव छ भन्छन्, तर त्यही समयमा बजारमा काम खोज्ने मान्छेको संख्या पनि उत्तिकै धेरै छ । थाहा छैन काम गर्ने र दिनेबीचको सन्तुलन कहाँनिर गुमिरहेको छ ?’ उनले प्रश्न गरिन् ।

-बिजनेश इन्साइडरबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१