काठमाडौं । फूल र झिलिमिलि बत्तिको पर्व भनेर चिनिने तिहार मिठा मिठा परिकार बनाएर खानको लागि पनि उत्तिकै चर्चित छ । लक्ष्मी पूजा तथा भाइटिकाको बेलामा विभिन्न परिकार बनाएर लक्ष्मीलाई चढाउने तथा दाजुभाइ/दिदीबहिनीलाई दिने गरिन्छ ।
सेलरोटी, मिठाइ, फिन्नी, अनरसा लगायत अन्य विभिन्न प्रकारका परिकार बनाएर खाने खुवाउने गरिन्छ । यद्यपि कतिपय खानेकुरा हामीलाई पकाउन नआउन पनि सक्छ । यस्तोमा सबैभन्दा सहज माध्यम आजको दिनमा इन्टरनेट नै बनेको छ ।
हुन त घरको ठूला मान्छेबाट सिक्नु सबैभन्दा सजिलाे कुरा हो, तर कहिलेकाहिँ ठूला मान्छे अथवा सिकाउने मान्छे नभएको बेला के गर्ने त ? यस्तो बेला राम्रो उपाय हो इन्टरनेट । इन्टरनेटमा खानेकुराका विभिन्न पाकशिक्षा उपलब्ध हुन्छन् ।
त्यसमध्ये पनि सबैभन्दा राम्रो उपाय हो युट्युव । युट्युवमा हेरेर अनि सुनेर नै सिक्न पाउने हुँदा हामीले थप राम्रोसँग सिक्न सक्छौं । यस्तै तिहारमा पकाइने मिठो परिकारको बारेमा सिक्न केही युट्युव च्यानलहरूको बारेमा यहाँ उल्लेख गरिएको छ ।
कान्छी किचेन नाम गरेको युट्युव च्यानल पछिल्लो समयमा एकदमै चर्चित च्यानल हो । विशेषगरी नेपाली परिकारहरू नेपाली तरिकाले नै सामान्य रुपमा बनाएर खाना पकाउन सिकाउनु कान्छी किचेन च्यानलको विशेषता हो ।
नेपाली परिकार भन्ने बित्तिकै तिहारमा नभई नहुने परिकार हो ‘सेलरोटी’ । केही दिनअगाडि मात्र सेलरोटीसँग क्राक्रोको अचार कसरी बनाउने भनेर उनले भिडिओ राखेकी छिन् । यहाँ तपाईंले नेपाली गाउँले तरिकाले परिकारहरू पकाउन सिक्नुहुन्छ । यो च्यानलको हाल एक लाख छ हजार सब्सक्राइबर छन् ।
यम्मी फुड वर्ल्ड युट्युव च्यानल पनि नेपाली परिकारहरूको रेसिपीको लागि निकै नै चर्चित छ । नेपाली विभिन्न परिकारहरू बनाउन सिकाउने यो च्यानलमा तिहारको लागि सेलरोटी, अचार, खुर्मा लगायत विभिन्न मिठाइ सहज रुपमा कसरी बनाउने भनेर भिडिओहरू राखिएको छ ।
यो सँगै यस च्यानलमा नेपाली विभिन्न समुदायको स्थानीय परिकार पनि पकाउने तरिकाहरू राखिएको छ । यो च्यानलको आठ लाख ९६ हजार सब्स्क्राइबर छन् ।
यो तिहारमा खुर्मा, सेलरोटी, जेरी, खिर लगायत अन्य हरियो तरकारी र मासुको नयाँ नयाँ परिकार बनाउन चाहनुहुन्छ भने यो च्यानल हेर्न सक्नुहुन्छ ।
हामीले सधैं खाइरहने सामान्य तरकारीलाई फरक तरिकाले कसरी पकाउन सकिन्छ भनेर यो च्यानलमा भिडिओहरू राखिएका छन् । त्यस्तै यो तिहारमा पकाउने मिठाइहरूको रेसिपी पनि यो च्यानलमा पाउन सक्नुहुन्छ ।
इजी किचेन रेसिपी पनि एउटा लोकप्रिय नेपाली खानेकुराको युट्युव च्यानल हो । यसमा पनि नेपाली खानाहरू कसरी पकाउने भनेर थुप्रै भिडिओ अपलोड भएका छन् ।
यो च्यानलमा चाडपर्वअनुसारका विभिन्न रेसिपी अपलोड भएका छन् । हालैको भिडियोमा तिहारको गुलियो रोटीसँग खान आलु र टमाटरको अचार बनाउने कला सिकाइएको छ । यो च्यानलमा एक लाख ५६ हजार सब्सक्राइबर छन् ।
काकी प्रतिभाको नेपाली किचेन पछिल्लो भिडिओ तिहारमा अर्सा रोटी कसरी बनाउने भन्ने भिडिओ छ । यी बाहेक यो च्यानलमा विभिन्न डेजटलगायत मिठाइहरूको परिकार पनि उपलब्ध छ ।
नेपाली विभिन्न स्थानीय परिकारहरू कसरी पकाउने भन्ने तरिका यो च्यानलमा सिकाइएको छ । हाल यो च्यानलको ३६ हजार सब्सक्राइबर छन् ।
यी लगायत युट्युवमा अन्य थुप्रै च्यानल छन्, जहाँ तिहार विशेष परिकार पकाउने तरिका सिकाइएको छ ।