close

प्रयोगकर्तामाथि यसरी बेइमानी गर्छन् स्मार्टफोन निर्माता कम्पनी

टेकपाना टेकपाना

कात्तिक १९, २०७८ १६:२७

प्रयोगकर्तामाथि यसरी बेइमानी गर्छन् स्मार्टफोन निर्माता कम्पनी

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनीहरूले आफ्ना उत्पादनको लोकप्रियता बढाउनका लागि अनेकौँ परिवर्तन गरेका छन् । तर यससँगै कतिपय यस्ता काम पनि भएका छन्, जुन उचित लाग्दैनन् ।

यसो भन्नुको अर्थ स्मार्टफोन निर्माता कम्पनीहरूले ग्राहक आकर्षित गर्नका लागि केही बेइमानीहरू गरिरहेका हुन्छन् । आज हामी तपाईंलाई स्मार्टफोन निर्माताहरूले गर्ने केही त्यस्ता बेइमानीहरूको बारेमा चर्चा गर्दैछौँ ।

गलत मार्केटिङः

कयौँ स्मार्टफोन निर्माता कम्पनीहरूले आफ्ना उत्पादनलाई उत्कृष्ट देखाउनका लागि मार्केटिङको गलत प्रयोग गर्दछन्  । यसको सुरुवात नोकिया लुमिया ९२० बाट भएको हो । जसमा एउटा डीएसएलआरबाट शुट गरिएको भिडिओ देख्न सकिन्छ ।

त्यस्तै प्रकारले ह्वावेले पनि आफ्नो नोभा ३ स्मार्टफोनको प्रयोगका लागि डीएसएलआर क्यामेरा नै प्रयोग गरेको थियो । तर मार्केटिङ गर्दा यसरी डीएसएलआरबाट खिचिएका भिडिओ तथा फोटोलाई स्मार्टफोनबाटै खिचिएको झैँ गरी प्रचार गर्ने गरिन्छ ।

स्मार्टफोनमा विज्ञापनः

यस किसिमको बदमासीमा साओमी सबैभन्दा अगाडि छ । साओमीले आफ्नो रेड्मी नोट सिरिजका स्मार्टफोनमा अत्यधिक विज्ञापन देखाउने गर्छ । जसले प्रयोगकर्तालाई वाक्क दिक्क बनाउँछ ।

यस्ता स्मार्टफोनमा धेरैजसो विज्ञापनयुक्त निःशुल्क एप पहिल्यैदेखि हुने गर्छन् । यसले प्रयोगकर्ताको अनुभवलाई नमिठो बनाउँछ ।  साओमी मात्रै होइन, पछिल्लो समय रियलमी र सामसङले समेत आफ्ना स्मार्टफोनमा विज्ञापन राख्न सुरु गरेका छन् ।

हेडफोन ज्याक हटाउने कार्यः

यो अहिले तत्कालको गुनासोको विषय भने होइन । किन भने एप्पलले आईफोन सेभेनमा हेडफोन ज्याक हटाएको थियो । कम्पनीले आफ्नो आईफोनमा नवप्रवर्तनको रुपमा यस्तो काम गरेको थियो । तर कम्पनीको यस किसिमको कार्यबाट धेरैजसो प्रयोगकर्ता खुशी हुन सकेनन् ।

स्मार्टफोन निर्माता कम्पनीले गरेका मध्ये यो एउटा नराम्रो काम थियो । अहिले आएर प्रायः सबैजसो फ्ल्यागशिप स्मार्टफोन उत्कृष्ट वाटर रेसिस्टेन्ट र वायरलेस अडियो प्रविधिका लागि हेडफोन ज्याक राख्दैनन् ।

बेञ्चमार्कमै बदमासीः

केही समय अघि रियलमीले आफ्नो स्मार्टफोन रियलमी जीटीको एन्टुटु बेन्चमार्क स्कोरमा परिवर्तन गरेको  थियो । जसका कारण यो स्मार्टफोनलाई उक्त प्लेटफर्ममा तीन महिनाका लागि प्रतिबन्धित गरियो ।

यद्यपि रियलमीले मात्रै यस किसिमको बदमासी गरेको छैन । वनप्लस, ह्वावे, अनर, ओप्पो र सामसङ जस्ता कम्पनीहरूले समेत बेन्चमार्क स्कोरमा हेरफेर गरेको आरोप लाग्दै आएको छ । साथै केही कम्पनीहरू नयाँ स्मार्टफोनमा बेन्चमार्क एपलाई ब्लक समेत गरिरहेका हुन्छन् ।

सार्वजनिक भइसकेपछि भारी छुटः

यदि तपाईंले विचार गर्नु भएको छ भने एन्ड्रोइड स्मार्टफोन सार्वजनिक भएको केही समयपछि निकै छुटमा पाउन सकिन्छ । सामसङले आफ्ना ग्यालेक्सी स्मार्टफोनहरूमा यस किसिमको चालबाजी अपनाउने गर्छ ।

कम्पनीको यस किसिमको रणनीति त्यस्ता ग्राहकहरूलाई नमिठो लाग्छ, जसले सार्वजनिक भएकै समयमा स्मार्टफोन किनिरहेका हुन्छन् । एन्ड्रोइड स्मार्टफोनको मूल्य आईफोनको तुलनामा निकै छिटो गरी घट्ने गर्छ । यस्तोमा जब कुनै नयाँ एन्ड्रोइड स्मार्टफोन सार्वजनिक हुन्छ भने केही समय पर्खिएर भारी छुट पाएपछि मात्र खरिद गर्न भनेर सल्लाह नै दिने गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५