काठमाडौं । अमेरिकी सरकारले डार्कसाइडका र्यानसमवेयर ह्याकर पत्ता लगाउनेलाई एक करोड डलर अर्थात् करिब एक अर्ब १८ करोड रुपैयाँसम्म इनाम दिने घोषणा गरेको छ ।
र्यानसमवेयर ह्याकर समूहको ह्याकिङ गतिविधि बढ्दै गएपछि अमेरिकी सरकारले यो कदम उठाएको हो । गत मे महिनामा पूर्वी सयुंक्त राज्यको सबैभन्दा ठूलो तेल पाइपलाइन बन्द गर्न बाध्य पार्ने अनलाइन आक्रमणको पछाडि रसियाली ह्याकरको हात भएको अमेरिकी सरकारले आरोप लगाएको छ ।
डार्कसाइड र्यानसमवेयरको कुनै पनि क्षेत्रको नेतृत्व गरिरहेको व्यक्ति अथवा उसका बारेमा कुनै पनि जानकारी दिने व्यक्तिका लागि अमेरिकी सरकारले यो बाउन्टीको घोषणा गरेको हो ।
त्यसैगरी यसरी डार्कसाइड र्यानसमवेयरसँग सम्बन्धित कुनै पनि व्यक्तिको कुनै पनि देशमा गिरफ्तारी वा दोषी ठहरिने जानकारीका लागि अमेरिकी सरकारले ५० लाख डलर अर्थात करिब ६० करोड रुपैयाँ बाउन्टीको घोषणा गरेको छ ।
‘यो बाउन्टीको घोषणा गर्दै अमेरिकी सरकारले र्यानसमवेयर अपराधीको आक्रमणबाट विश्वभरका पीडितलाई जोगाउने आफ्नो प्रतिबद्धता देखाउँछ,’ विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि केही साइबर सेक्युरिटी विज्ञले भने अमेरिकी सरकारको यो घोषणाले अपराधी चिनाउन मद्दत नगर्ने अभिव्यक्ति दिएका छन् । पछिल्लो समयमा साइबर आक्रमण व्यापक रुपमा बढिरहेको छ ।
अमेरिकी निकायले अक्टोबर महिनामा सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २०२१ को पहिलो छ महिनामा मात्र ५९० मिलियन अमेरिकी डलर अर्थात करिब ६९ अर्ब रुपैयाँ र्यानसमवेयर आक्रमणमा तिरेको थियो ।
पीडित कम्पनी तथा संस्थाहरू आफ्नो डेटा फिर्ता पाउनको लागि पैसा तिर्न बाध्य हुन्छ्न, जबकि अर्कोतर्फ सम्बन्धित निकाय पनि उनीहरूलाई नै दबाब दिइरहेका हुन्छन् ।