काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एम टु एम (मसिन टु मसिन) तथा आईओटी (इन्टरनेट अफ थिङ्ग्स) लाई लक्षित गर्दै नम्बरिङ योजना अघि बढाउने भएको छ । दश अङ्कको मोबाइल नम्बर भ्वाइस तथा डेटाका साथै प्रविधि परिवर्तनसँगै आईओटी तथा एमटुएममा पनि प्रयोग हुनको छ ।
प्रविधिको यही विकासक्रमलाई पच्छ्याउँदै नियामकले त्यसका लागि आवश्यक तयारी थालेको हो । अहिले फोनमा चलिरहेका मोबाइल नम्बर बाहेक, भेहिकल ट्रयाकिङ, डेटा लगर, इन्टरनेट नभएको ठाउँमा जीपीआरएस वा थ्रीजी सेवाबाट डेटा पठाउने ठाउँमा, सेन्सर नेटवर्कको ठाउँमा समेत टेलिफोन तथा मोबाइल नम्बरहरू प्रयोग भइरहेका छन् ।
साथै फाइभजी, आईओटी लगायतका नयाँ प्रविधि बजारमा आउँदैछन् । यस्तोमा थप नम्बर आवश्यक हुनु स्वभाविक हो ।
त्यसैले प्राधिकरणले हालको राष्ट्रिय नम्बरिङ योजना अनुसारका नम्बर भोलिका दिनमा पर्याप्त हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई समेत समेटेर अध्ययन अघि बढाउने भएको हो । त्यसका लागि टीओआर (टर्म्स अफ रेफ्रेन्स) तयारी भइरहेको प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताएका छन् ।
उनका अनुसार अहिलेसम्म इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) को ईडट १६४ मापदण्ड अन्तर्गत रहेर नेपालमा दश अङ्कको नम्बर प्रचलनमा छ । आईटीयूको ईडट १६४ अनुसार मोबाइल तथा टेलिफोन नम्बरलाई कन्ट्री कोड (नेपालमा ९७७) लिड नम्बर, अपरेटर कोड र सब्सक्राइबर नम्बर गरेर अधिकतम १५ अङ्कसम्म पुर्याउन सकिने व्यवस्था छ ।
अहिले नेपालको मोबाइल नम्बर झट्ट हेर्दा १० अङ्कको छ । तर, वास्तवमा आईटीयूले निर्धारण गरेको मापदण्डअनुसार कन्ट्री कोड (९७७) सहित हाम्रो मोबाइल नम्बर १३ अङ्कको हुनपुग्छ । यद्यपि अझै दुई ओटा नम्बर हामीसँग थपेर १५ अङ्क बनाउने विकल्प भने बाँकी नै छ ।
‘यस्तोमा आईओटी तथा एमटुएम सर्भिसलाई समेत लक्षित गरेर नम्बर थप गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा अध्ययन गर्ने तयारीमा छौँ,’ निर्देशक स्थापितले भने, ‘हाम्रो पहिलो प्राथामिकता नम्बर परिवर्तन गर्न नपरोस् भन्ने नै हुन्छ । किन भने नम्बर परिवर्तन हुँदा एकै पटक सबै प्रयोगकर्ताको नम्बर परिवर्तन हुने र त्यसले गर्दा सबैले झन्झट ब्यहोर्नु पर्ने हुन्छ ।’
त्यसका लागि प्राधिकरणले लिमिटेड सेवा प्रदायकलाई उपलब्ध गराएको नम्बरलाई पनि यसैमा समावेश गर्ने योजना बनाएका छ । हाल लिमिटेड सेवा (लिमिटेड मोबिलिटी सर्भिस) का लागि पनि १० ओटा अङ्ककै नम्बर छुट्याइएको छ ।
तर, पछिल्लो समय लिमिटेड सेवाको प्रयोग बन्द हुँदै गएपछि उक्त नम्बरलाई पनि मोबाइल सेवामा उपलब्ध गराउने प्राधिकरणको योजना छ । त्यसो भएको खण्डमा केही समयका लागि आईओटी तथा एमटुएमलाई आवश्यक पर्ने नम्बरलाई समेत यसले धान्न सक्ने अनुमन गरिएको छ ।