काठमाडौं । ‘हाई टेक पार्टी’ बन्ने नाममा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले अनलाइनबाटै चन्दा संकलन गर्न सुरु गरेको छ । पार्टीले आसन्न दशौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चन्दा अभियान थालेको हो ।
एमालेले महाधिवेशनका लागि आम पार्टी कार्यकर्ता तथा पार्टी समर्थक एवम् शुभचिन्तकहरूबाट न्यूनतम सय रुपैयाँभन्दा माथि सहयोग अपिल गरेको छ । चन्दा संकलन गर्न एमालेले क्यूआर कोड सार्वजनिक गरेको छ ।
जसमा स्क्यान गरी मोबाइल बैंकिङ एप तथा ई-सेवामार्फत चन्दा बुझाउन सकिने जनाइएको छ । राजनीतिक पार्टीले अनलाइनमार्फत चन्दा संकलन गर्न थालेको सम्भवतः यो नै पहिलो पटक हो । पार्टीले अनलाइनबाटै पार्टी सदस्यता नवीकरण तथा जारी गर्न हालै मात्र मोबाइल एप समेत प्रयोगमा ल्याएको छ ।