काठमाडौं । एकताका निकै लोकप्रिय रहेको ‘नोकिया ६३१०’ नवीनतम फिचरसहित नेपाली बजारमा सार्वजनिक भएकाे छ । यो फोनमा कम्पनीले कयौं परिवर्तन ल्याएको छ । यद्यपि सन् २००१ मा सार्वजनिक नोकियाको वास्तविक क्यान्डी बार डिजाइन कायम राखिएको छ ।
नोकिया ६३१० ले आजको आवश्यकताको लागि पहिले धेरै रुचाइएको क्लासिक नोकिया फोनहरूको पुरानो विशेषतालाई प्रस्तुत गरेको कम्पनीले दाबी गरेको छ ।
यसमा २.८ इन्चको डिस्प्ले राखिएको छ । फोनमा यूएनआईएसओसी ६५३१ एफ प्रोसेसर, ८ एमबी र्याम तथा १६ एमबी इनब्युल्ट स्टोरेज राखिएको छ ।
सिरिज ३० प्लस (एस ३० प्लस) अपरेटिङ सिस्टममा रन हुने यो फोनमा आइकन पहिलेभन्दा ठूला आकारका छन् । जसले गर्दा पढ्न र प्रयोग गर्न अझ सहज लाग्छ । पढ्ने र प्रयोग गर्ने सहजताका लागि मेनु जुम गर्ने सुविधा पनि यसमा छ ।
फोनमा एक्सेसिबिलिटी मोड पनि दिइएको छ, जसले मेनुलाई अझ साधारण बनाउँछ । नोकिया ६३१० मा ०.३ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ । जसमा एलईडी फ्ल्याश समेत दिइएको छ ।
माइक्रो एसडी स्लट समेत राखिएको यो फोनमा ३२ जीबीसम्मको मेमोरी कार्ड राख्न मिल्छ । साथै फोनमा ब्लुटुथ ५.०, वाई-फाई, डुअल सिम सपोर्ट र एफएम रेडियो जस्ता फिचर समेत छन् । फोनमा ११५० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।
पुरानो फोनको स्पिकर डिजाइनलाई नयाँ स्वरुप दिइएको छ । साथै नयाँ भर्सनमा इयरपिसका लागि एउटा सामान्य तेर्छो स्लिट राखिएको छ । मोनोक्रोम ६ लाइन डिस्लेको ठाउँमा नोकिया ५३१० को नयाँ भर्सनमा कर्भ्ड कलर डिस्प्ले राखिएको छ ।
जुन पुरानो फोनको तुलनामा ठूलो छ । नयाँ आएको फोनमा पछाडि भागमा क्यामेरा समेत थपिएको छ ।
नोकिया ६३१० मा ठूला पुश बटनहरू र एम्पल डिस्प्लेका कारण म्यासेजहरू पढ्न, प्रियजनहरूसँग कनेक्ट हुन वा मनपर्ने एप्लिकेसनहरू सजिलै फेला पार्न सकिने कम्पनीले जनाएको छ ।
पुरानो फोनहरूमा जस्तै यसमा पनि न्युज च्यानलहरू, खेलकुद समाचार वा संगीत सुन्नका लागि रेडियोसँगै पहिलेको स्नेक गेम पनि उपलब्ध छ ।
यो मौलिक शैलीको नोकिया फोन एकपटक फुल चार्ज गरेपछि हप्ता दिनसम्म टिक्ने कम्पनीको दाबी छ । गाढा हरियो र पहेँलो रंगमा उपलब्ध यो फोनको मूल्य नेपाली बजारमा रु ६,२९९ रहेको छ।