close

भनेजति स्पीडमा इन्टरनेट किन चल्दैन ?

टेकपाना टेकपाना

पुस १४, २०७६ १५:३५

भनेजति स्पीडमा इन्टरनेट किन चल्दैन ?

के तपाईंले सेवाप्रदायकले भने जतिको गतिमा इन्टरनेट सेवा पाइरहनु भएको छ ? पक्कै पनि यो प्रश्नमा तपाईंबाट समेत सन्तुष्टि मिश्रित जवाफ नै आउन सक्छ ।

अहिले नेपालमा सेवाप्रदायकहरुले ग्राहकहरुलाई पाँच एमबीपीएसदेखि ७५ एमबीपीएस गतिसम्मको इन्टरनेट सेवा अफर गरिरहेका छन् । प्रायः नेपाली इन्टरनेट प्रयोगकर्तामा इन्टरनेट सेवा प्रदायकबाट उनीहरु स्वयमले कबोल गरेको गतिमा इन्टरनेट सुविधा नपाएको गुनासो सुनिन्छ ।

हामीले ग्राहकहरुको यस विषयसँग सम्बन्धित जिज्ञासा र असन्तुष्टिको विषय नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंका प्रबन्ध निर्देशक तथा अध्यक्ष दिलिप अग्रवाल समक्ष राखेका थियौँ । वास्तवमा यो नेपालका सेवा प्रदायकको मात्र नभई विश्वभरका इन्टरनेट सेवा प्रदायकले सामना गरिरहेको प्रश्न हो । यस किसिमको गुनासोको विषयमा अग्रवाल अनविज्ञ हुने कुरै भएन ।

वास्तवमा इन्टरनेट सेवाका ग्राहक दुई किसिमका हुन्छन्, घरेलु र कर्पोरेट । घरेलु ग्राहकको तुलनामा कर्पोरेट ग्राहकले पाउने इन्टरनेट फरक हुने मात्रै होइन, त्यसको मूल्य पनि एकदमै धेरै हुन्छ । उदाहरणका लागि तपाईं घरेलु प्रयोगकर्ता हो भने एक वर्षसम्मका लागि नेपाल टेलिकमको ३५ एमबीपीएस गतिको इन्टरनेटका लागि १६ हजार तिरे पुग्छ । तर, टेलिकमकै डेडिकेटेड इन्टरनेट लिन चाहनुहुन्छ भने २० एमबीपीएसकै ६९ हजार रुपैयाँ हुन आउँछ ।

कर्पोरेट ग्राहकलाई अन्तरराष्ट्रिय नेटवर्कसम्म वा जुनसुकै गन्तव्यसम्मका लागि डेडिकेटेड अर्थात २४ सै घण्टा भनिएकै गतिमा इन्टरनेट दिइएको हुन्छ । यसमा कबोल गरिएको गतिमा जुनसुकै समय इन्टरनेट प्रयोग गर्न पाइन्छ ।

तर घरेलु ग्राहकलाई दिइने इन्टरनेट भने नितान्त भिन्न अर्थात ‘सेयर्ड’ हुन्छ । यस विषयलाई अग्रवालले स्पष्ट पार्न कोसिस गरेका छन् । उनका अनुसार घरेलु ग्राहकका लागि दिइने इन्टरनेट प्रयोगकर्ताको घरदेखि सम्बन्धित इन्टरनेट सेवा प्रदायकको नेटवर्कसम्म मात्रै डेडिकेटेड हुन्छ । अर्थात भनिएको गति सुनिश्चित हुन्छ ।

‘तर, यसमा सेवा प्रदायकको नेटवर्कबाट अन्तर्राष्ट्रिय नेटवर्कमा इन्टरनेट कनेक्सन दिँदा भने सेयर गरिएको हुन्छ,’ उनी भन्छन्, ‘उदाहरणक लागि हामीले २० एमबीपीएसको प्याकेज सय ओटा ग्राहकलाई बेच्यौँ । डेडेकेटेडमा हो भने अन्तर्राष्ट्रिय नेटवर्कसम्म नै दूई हजार एमबीपीएस क्षमता नै राख्नुपर्ने हुन्छ । तर, घरेलु प्रयोगकर्ताका लागि हामी त्यसो गर्दैनौँ । यसमा बढीभन्दा बढी दुई सय एमबीपीएस मात्रै राख्छौँ ।’

अर्थात एक जना कर्पोरेट ग्राहकले सेवाप्रदायकको नेटवर्क देखि अन्तर्राष्ट्रिय नेटवर्कसम्म पाउने इन्टरनेटको ब्याण्डविथ घरेलु तर्फ भने दश जनालाई बाँडिन्छ । तर, यसको असर प्रयोगकर्ताले भने महसुस गर्दैनन् । साधारण प्रयोगकर्ताले त यसको छनक समेत पाएका हुँदैनन् । आखिर किन ?

यसको जवाफमा अग्रवाल अगाडि भन्छन्, ‘तपाईं कम्प्युटर अगाडि बसेर इन्टरनेट प्रयोग गरिरहनुभएको छ भने डाउनलोड वा अपलोडको काम गरिसकेपछि ब्याण्डविथको खपत एकदमै कम हुन थाल्छ । त्यसबाहेक तपाईं सधैं इन्टरनेटको प्रयोग गर्नुहुन्न । यसरी बाँकी रहेको ब्याण्डविथ अर्को प्रयोगकर्तासँग बाँडिएको हुन्छ ।’

त्यसो त वाईफाई राउटरबाट मोबाइल तथा ल्यापटपमा इन्टरनेट चलाउनाले समेत इन्टरनेटको स्पीड कम हुन पुग्छ । राउटरमा केबल जोडेर चलाउँदा भनेजतिको स्पीडमा इन्टरनेट चलाउन सकिने अग्रवालको दाबी छ । ‘अप्टिकल फाइबरमार्फत पुर्‍याइएको इन्टरनेटमा कहिँ पनि बिचमा ब्याण्डविथ लिक हुने वा कम हुनै सक्दैन,’ उनी भन्छन्, ‘यस हिसावले २० एमबीपीएस भनिएको छ भने त्यति नै गतिको इन्टरनेट तपाईंको घरसम्म पुगेकै हुन्छ ।’

वाईफाईबाट इन्टरनेट चलाउँदा फुल स्पीड नहुनुको कारण समेत अग्रवालले प्रष्ट पार्ने कोशिस गरेका छन् । वाईफाई राउटरको गुणस्तर र वाईफाईको दुरीले इन्टरनेटको स्पीडमा फरक पार्ने उनको भनाई छ । दुरीका कारण कभरेज नुहुने वा कभरेज हुँदा समेत स्पीड नहुने समस्या छ भने अतिरिक्त राउटर राखेर समाधान गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१