close

नेपालमा पनि हल्ट प्राइज २०२२ हुँदै, विजेताले १० लाख डलर पाउने

टेकपाना टेकपाना

माघ ९, २०७८ २१:४

नेपालमा पनि हल्ट प्राइज २०२२ हुँदै, विजेताले १० लाख डलर पाउने

काठमाडौं । विद्यार्थीका लागि नोबेल पुरस्कारका रुपमा परिचित ‘हल्ट प्राइज’ को नयाँ संस्करण सुरु भएको छ । १२० भन्दा बढी देशका दशौं हजार विद्यार्थीले भाग लिने यो कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दै आएका छन् ।

पछिल्ला केही वर्षदेखि नेपालमा पनि विभिन्न विश्वविद्यालय, शैक्षिक संकाय र कलेजमा हल्ट प्राइजको ‘अनक्याम्पस प्रोग्राम’ सञ्चालन हुँदै आएको छ ।

गत वर्षकाे हल्ट प्राइज कार्यक्रमअन्तर्गत नेपालकाे हल्ट प्राइज एट आईओईले विश्वकै शीर्ष २० अन-क्याम्पस इभेन्ट अवार्डसमेत प्राप्त गरेकाे थियाे । साथै साेही टिमकै क्याम्पस डाइरेक्टर जयकिशन पञ्जियार शीर्ष २० क्याम्पस डाइरेक्टरमा पर्न सफल भएका थिए ।

विश्वभर तीन हजारभन्दा बढी यस्ता अनक्याम्पस प्रोग्राम हुने गरेका छन् । यस्ताे कार्यक्रमले विद्यार्थीहरुलाई तोकिएको विषयमा बिजनेश आइडिया बनाउन, पिच गर्न विभिन्न तालिम, सेमिनार आयोजना गर्ने गर्छन् ।

अनक्याम्पस प्राेग्रामबाट उत्कृष्ट विद्यार्थी समूह बनी हल्ट प्राइजको क्षेत्रीय प्रतिस्पर्धा (रिजनल समिट) मा सहभाग हुन सकिनेछ ।

कुनै एउटा सामजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने विद्यार्थीको समूहले अनक्याम्पस प्रोग्राम हुँदै रिजनल समिटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

हल्ट प्राइजको रिजनल समिटका लागि अनक्याम्पस प्रोग्रामबाहेक विद्यार्थी आफैंले पनि सिधै अप्लाई गर्न सक्नेछन् ।

रिजनल समिटमा विजयी भए विद्यार्थी टोली ‘ग्लोबल एक्सिलेरेटर’ कार्यक्रमका लागि छानिने छ । सो अवसरमा निर्णायकका अगाडि उत्कृष्ट बिजनेश आइडिया प्रस्तुत (पिच) गर्ने टोली ग्लोबल फाइनलमा प्रवेश गर्नेछ ।

ग्लोबल फाइनलमा पनि विजयी भए विद्यार्थी टोलीले १० लाख डलर लगानी हात पार्नेछ । खाद्य सुरक्षा, पानी, ऊर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष भिन्न शीर्षक प्रदान गरिन्छ ।

यसपटक ‘Getting the World Back to Work’ शीर्षकमा विद्यार्थीले बिजनेश प्लान बनाउनुपर्ने बताइएको छ । यसअन्तर्गत सन् २०२४ सम्म दुई हजार जनालाई आफ्नो व्यवसायबाट प्रत्यक्ष प्रभाव पार्नसक्ने गरी व्यवसायिक योजना बनाउनुपर्ने छ ।

नेपालमा पनि त्रिभुवन विश्वविद्यायलय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतका विश्वविद्यालय अन्तर्गत विभिन्न शैक्षिक संकायमा हल्ट प्राइजको ‘अनक्याम्पस प्रोग्राम’ सञ्चालन भइरहेको छ ।

साथै यी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरुमा पनि हल्टप्राइज प्रतिस्पर्धा सुरु भएको छ । हरेक अनक्याम्पस प्रोग्रामका लागि एक जना क्याम्पस डाइरेक्टर नियुक्त भएका छन् ।

विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई हल्ट प्राइज प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । हल्ट प्राइजबारे विस्तृतमा जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२