काठमाडौं । नेपालमा अनलाइनमार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात गरेको छ ।
कोजेन्ट हेल्थले नेपालकै ठूलो भुक्तानी सेवाप्रदायक ईसेवासँगको सहकार्यमा एभरेष्ट हस्पिटल नयाँबानेश्वर, इशान बाल तथा महिला अस्पताल बसुन्धरा काठ्माडौँ, मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर पोखरा तथा राप्ति लाइफ केयर हस्पिटल तुल्सिपुरमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात गरेको हो ।
योसँगै अबदेखि यी अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि ईसेवाको मोबाइल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवा चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।
बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ ।
अहिलेको कोभिड १९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउने बताइएकाे छ ।
कोजेन्ट हेल्थ र ईसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई-अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेबजस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेका छन् ।