काठमाडौं । स्मार्टफोन बोक्ने प्रायः सबैका लागि पावर बैंकको आवश्यकता र महत्त्व थाहा भएकै विषय हो । खासगरी यात्रामा निस्किँदा मोबाइलको चार्ज पुग्ला कि नपुग्ला भन्ने कुराको चिन्ता धेरैमा हुने गर्छ ।
बिजुली बत्ति नपुगेको क्षेत्रमा जाँदै हुनुहुन्छ भने त झन् यो मुख्य तनावको विषय हुन पुग्छ । यस्तोमा हामीले सोच्ने भनेको एउटा गतिलो पावर बैंक साथमा बोक्नु नै हो ।
हुन त सामान्य अवस्थामा पनि मोबाइलको ब्याट्री गतिलो छैन भने पावर बैंक लगातार आवश्यकताको विषय बन्न पुग्छ ।
तपाईं पनि यस्तै किसिमको आवश्यकताको हिसाबले पावर बैंक खरिद गर्ने विषयमा सोच्दै हुनुहुन्छ भने आज हामी तपाईंलाई त्यसअघि विचार पुर्याउनुपर्ने पक्षहरूको विषयमा बताउँदै छौँ ।
१. पावर बैंकको क्षमता
पावर बैंक खरिद गर्दा ध्यान दिनुपर्ने सबैभन्दा मुख्य विषय भनेको त्यसको क्षमता नै हो । यहाँनिर आफूलाई कति क्षमताको पावर बैंक उपयुक्त हुन्छ भन्ने कुरा तपाईंले ख्याल गर्नुपर्ने हुन्छ ।
त्यसो त धेरैभन्दा धेरै एमएएच भएको पावर बैंक तपाईंले लिन खोज्नुहुन्छ । यस्तोमा आफ्नो स्मार्टफोनको ब्याट्रीको क्षमता कति छ भन्ने कुरा ध्यान दिन नबिर्सिनुहोस् ।
सामान्यतया आफ्नो फोनको ब्याट्रीको क्षमताको तुलनामा २.५ गुणादेखि तीन गुणाभन्दा बढी क्षमताको पावर बैंक लिनुहोस् । उदाहरणका लागि तपाईंको मोबाइलको ब्याट्रीको क्षमता ४००० एमएएच छ भने कम्तिमा १०,००० एमएएच क्षमताको पावर बैंक खरिद गर्नुहोस् ।
यस्तो पावर बैंकबाट तपाईंले आफ्नो स्मार्टफोन थुप्रैपटक चार्ज गर्न सक्नुहुन्छ । यहाँनिर ख्याल गर्नुपर्ने महत्त्वपूर्ण विषय के छ भने पावर बैंकमा भएको सम्पूर्ण चार्ज स्मार्टफोनमा ट्रान्सफर हुन सक्दैन ।
त्यसैले अहिलेको समयमा २०,००० अथवा ३०,००० एमएएच क्षमताका पावर बैंक लोकप्रिय हुन थालेका छन् । तर हवाई जहाजमा यात्रा गर्नुहुन्छ भने २७,००० एमएएच क्षमताभित्र सीमित रहनुहोस् ।
किनभने त्यसभन्दा माथिको क्षमता भएका पावर बैंक तपाईंले हवाइजहाजमा लैजान पाउनुहुन्न ।
२. चार्जिङ पोर्ट
पावर बैंकमा यूएसबी तथा टाइप सी पोर्ट छ रहे नरहेको यकिन गर्नुहोस् । सकेसम्म यूएसबी पोर्ट कम्तिमा दुई ओटा भएको खण्डमा अझ राम्रो हुन्छ ।
किनभने यस्तोमा तपाईंलाई आवश्यकता अनुसार सँगसँगै एकभन्दा बढी मोबाइल चार्ज गर्ने विकल्प समेत रहन्छ । हुन त बजारमा तपाईंले टाइप सी सँगै यूएसबी टाइप ए, डीसी पोर्ट, सिगार लाइटर्स र एसी प्लग समेतका विकल्प भएका पावर बैंक पाउन सक्नुहुन्छ ।
३. आउटपुट भोल्टेज
साथै पावर बैंकको आउटपुट भोल्टेज समेत हेर्न नबिर्सिनुहोस् । ता कि पावर बैंकको आउटपुट भोल्टेज फोनको आउटपुट भोल्टेजभन्दा कम नहोस् । यस्तोमा तपाईंको फोन चार्ज नहुन सक्छ र झन् उल्टै तनाव थपिन सक्छ ।
४. चार्ज लेभल थाहा पाउने इन्डिकेटरः
पावर बैंक लिनु अघि त्यसमा फुल चार्ज रहेको र लाइट इन्डिकेटरमार्फत त्यसको चार्जिङ लेभल थाहा पाउन सकिने विषय सुनिश्चित गर्नुहोस् । यस्तोमा सकेसम्म एलसीडी स्क्रिन भएको पावर बैंक हेर्नुहोस्, जसमा स्टोर भएको पावर प्रतिशतमा देख्न सकिन्छ ।
५. फास्ट चार्जिङको सुविधा हेर्नुहोस्ः
कम्प्याटिबल डिभाइसका लागि पावर बैंकमा क्विक चार्ज २.०, ३.० अथवा पीडी सर्टिफाइड भएको सुनिश्चित गर्नुहोस् । यो कुरा चाहिँ तपाईंले आफ्नो स्मार्टफोनको आधारमा तय गर्नुपर्ने विषय हो । यो कुरा चाहिँ वाटमा मापन हुन्छ ।
अहिलेका धेरैजसो स्मार्टफोनमा फास्ट चार्जिङ सपोर्ट हुने भएकाले तपाईंलाई कम्तिमा १८ वाट फास्ट चार्जिङ सपोर्ट आवश्यक पर्न सक्छ । अन्यथा पावर बैंकबाट तपाईंको फोन निकै सुस्त गतिमा चार्ज हुनेछ ।
अझ तपाईं त्यसबाट ल्यापटप अथवा गेमिङ कन्सोल समेत चार्ज गर्ने विषयमा सोच्दै हुनुहुन्छ भने अझ धेरै पावर भएको चार्जर आवश्यक पर्छ ।
६. फुल चार्ज हुन लाग्ने समयः
पावर बैंक खरिद गर्दा त्यसलाई फुल चार्ज गर्न लाग्ने समय विचार गर्न पनि नबिर्सिनुहोस् । केही वर्ष अघिसम्म १०,००० एमएएच क्षमताका पावर बैंक फुल चार्ज गर्न ६ देखि ८ घण्टासम्म लाग्ने गर्दथ्यो ।
तर अहिलेको समयमा दुई तीन घण्टामै फुल चार्ज हुने पावर बैंक सहजै पाउन सकिन्छ । यतिसम्म कि १८ मिनेटमै फुल चार्ज हुने पावर बैंक समेत बजारमा आउन थालिसकेका छन् । तर यस्ता अल्ट्रा फास्ट चार्जिङका लागि तपाईंले प्रिमियम मूल्य तिर्नुपर्ने हुन्छ ।
७. अन्य फिचर
यस बाहेक तपाईंले ओभर चार्ज प्रोटेक्सन, शर्ट सर्किट प्रोटेक्सन, सक प्रोटेक्सन जस्ता सुरक्षात्मक फिचर, फ्ल्याश लाइट, सोलाचर चार्जिङ (त्यसमा भएको सोलार प्यानलबाटै चार्ज हुने), वाटर प्रुफ आदि फिचर समेत आफ्नो आवश्यकता र उपलब्धताको आधारमा विचार गर्न सक्नुहुन्छ ।