close

काठमाडौंमै छैन मोबाइलको गुणस्तरीय सेवा, टेलिकम, एनसेल र स्मार्ट सबैमा समस्या

टेकपाना टेकपाना

फागुन ६, २०७८ १४:१०

काठमाडौंमै छैन मोबाइलको गुणस्तरीय सेवा, टेलिकम, एनसेल र स्मार्ट सबैमा समस्या

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा सँधै चुक्दै आएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ड्राइभ टेस्टमार्फत विभिन्न समयमा मोबाइल सेवा प्रदायकको गुणस्तर मापन गरिरहेको छ ।

प्राधिकरणले गर्ने यस्ता परीक्षणमा सेवा प्रदायक तोकिएको मापदण्ड पूरा गर्न सँधै असफल रहेको देखिन्छ । यतिसम्म कि काठमाडौं उपत्यकामै टेलिफोन सेवाप्रदायक कम्पनीहरूले गुणस्तरीय सेवा उपलब्ध गराउन नसकेको प्रतिवेदन समयसमयमा सार्वजनिक हुनेगरेको छ ।

यसैक्रममा प्राधिकरणले पुस महिनामा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा सेवा प्रदायकको मोबाइल कलको गुणस्तर परीक्षण गरेको थियो । उक्त प्रतिवेदन भर्खरैमात्र सार्वजनिक भएको छ ।

प्रतिवेदनले सेवा प्रदायक फेरिपनि काठमाडौं उपत्यकामै गुणस्तरीय सेवा दिनबाट चुकेको देखाउँछ । पुस १६ गते देखि २७ गतेसम्म भएको परीक्षणमा सबै सेवा प्रदायक (एनसेल, स्मार्ट र नेपाल टेलिकम) कल सेटअप टाइमको मापदण्ड पूरा गर्न असफल देखिएका हुन् ।

पहिलो दिन अर्थात पुस १६ गते नयाँ बानेश्वर, शंखमूल, ग्वार्को, इमाडोल, शंखमूल, लुभु र लामाटारमा भएको परीक्षणमा कल ड्रप रेटमा स्मार्ट र एनसेल सफल देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक कल सेटअपको सफल दर, कल सेटअप समय र कल ब्लक रेटमा पनि सबै सेवा प्रदायकले मापदण्ड पूरा गर्न असफल भएका छन् ।

प्राधिकरणको प्रावधान अनुसार कल सेटअप सफल दर ९९.९९ प्रतिशत भन्दा माथि हुनुपर्ने हो । तर, नेपाल टेलिकम ९९.५५, एनसेल ९६.४३ र स्मार्ट ३४.४८ प्रतिशतमै सीमित रहेको  छ ।

त्यस्तै कल सेटअप टाइम ५ सेकण्ड वा सो भन्दा कम हुनुपर्नेमा नेपाल टेलिकमको ९.२१, एनसेल ६.०६ र स्मार्टको १२.८७ सकेण्ड लाग्ने देखिएको छ । त्यस्तै कल ब्लक रेट दुई प्रतिशत वा सो भन्दा कम हुनपर्ने मापदण्ड छ ।

तर, टेलिकमको ३.४५, एनसेलको ३.५७ र स्मार्टको ६५.५२ प्रतिशतमाथि रहेको छ । त्यस्तै कल ड्रप (मोबाइलमा कुरा गर्दागर्दै फोन काटिने) रेट दुई प्रतिशत वा सो भन्दा कम हुने पर्नेमा नेपाल टेलिकमको ३.५७ प्रतिशत रहेको छ ।

यसमा नेपाल टेलिकम मात्रै असफल भएको छ । स्मार्ट र एनसेलको कल ड्रप रेट उक्त स्थानमा शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

तर, १८ गते इमाडोल, ग्वार्को, सातदोबाटो, एकान्तकुना, धोबीघाट, बल्खु, कलंकी, स्वयम्भू, बनस्थली, नयाँ बजार, सोह्रखुट्टे र ठमेल क्षेत्रमा भएको परीक्षणमा भने नेपाल टेलिकम कल ड्रप रेटमा सफल देखिएको थियो । अन्य सूचकाङ्कमा भने सबै सेवा प्रदायकले आवश्यक मापदण्ड पूरा गरेका छन् ।

प्रतिवेदन अनुसार १९ गते जमल, ज्ञानेश्वर, गौशला, गौरीघाट, चाबहिल, एयरपोर्ट, सिनामंगल, कोटेश्वर, बालकुमारी र ग्वार्कोमा मोबाइल सेवाको गुणस्तर परीक्षण गरिएको थियो । त्यसैगरी, २० गते मित्रपार्क, टुसाल, कुमारीगाल, बौद्ध, चाबहिल, धुम्बाराही, कपन, गोल्फुटार, बुढानीलकण्ठ, पासीकोट, हात्तीगौंडा, नारायणगोपाल चोक, महाराजगञ्ज, लाजिम्पाट र लैनचौरमा गुणस्तर परीक्षण गरिएको थियो ।

दुई दिनको यो परीक्षणमा कल ड्रप रेटमा एनसेल र स्मार्टसेलले गुणस्तर कायम गरे पनि नेपाल टेलिकम दुवैमा चुकेको थियो । त्यस्तै २१ गते प्राधिकरणले सातदोबाटो, नागपोखरी, कुसुन्ती, एकान्तकुना, झम्सिखेल, सानेपा, कुपण्डोल, त्रिपुरेश्वर र जमलमा परीक्षण गरेको थियो । उक्त परीक्षणमा एनसेल कल ड्रप रेटमा सफल भएको थियो ।

बाँकी सबै सूचकाङ्कमा सबै मोबाइल सेवाप्रदायक असफल देखिएका थिए । पुस २२ गते कोटेश्वर, पुरानो सिनामङ्गल, चाबहिल, सुन्दर टोल, बौद्ध, जोरपाटी, थाली, कपन र धुम्बाराहीमा भएको परीक्षणमा भने सबै सेवा प्रदायक आवश्यक सबै मापदण्डमा पूरा गर्न असफल रहेको देखिन्छ ।

बुंगमती, च्यासिकोट, भैँसेपाटी, नख्खु, एकान्तकुना, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर र जमलमा २३ गते  परीक्षण हुँदा कल सेटअप र कल ब्लक रेटमा नेपाल टेलिकम मापदण्ड पूरा गर्न सफल भएको छ । एनसेल कल ड्रप रेटमा सफल भएको छ । बाँकी अन्य इन्डिकेटरमा सबै सेवा प्रदायक असफल छन् ।

त्यस्तै सिंहदरबार, नयाँ बानेश्वर, मिलनचोक, भिमसेनगोला, गौशला, गैरीघाट, पुरानो सिनामंगल, पेप्सीकोला, कोटेश्वर र ग्वार्कोमा पुस २५ गते मोबाइल सेवाको गुणस्तर परीक्षण गरिएको थियो । उक्त परीक्षणमा कल ड्रप रेटमा टेलिकम मात्र सफल भएको छ ।

अन्य सूचकाङ्कमा सबै सेवा प्रदायक असफल भएका छन् । २६ गते सीतापाइला, रामकोट र कलङ्कीमा भएको परीक्षणमा कल ड्रप रेटमा सबै सेवा प्रदायक सफल भए पनि अन्य इन्डिकेटरमा भने अवस्था नाजुक देखिएको छ ।

ठमेल, सामाखुसी, गोंगवु, धापासी, माहांकाल, गोल्फुटार र बरफेदीमा २७ गते भएको परीक्षणमा एनसेल मात्र कल ड्रप रेटमा सफल भएको थियो । अन्य इन्डिकेटरमा सबै सेवा प्रदायक असफल भएका छन् ।

यस हिसाबले औसतमा हेर्दा एनसेल कल ड्रप रेटमा १.१८ प्रतिशतका साथ २ प्रतिशतको मापदण्ड काय राख्न सफल भएको छ । तर, अन्य इन्डिकेटरमा भने कुनै पनि सेवा प्रदायकले नियामकको मापदण्ड पूरा गर्न सकेको देखिँदैन ।

यसरी मोबाइल सेवाप्रदायक कम्पनीहरू देशको राजधानीमै ग्राहकलाई गुणस्तरीय सेवा दिन चुकेको देखिन्छ । त्यसो त सेवाप्रदायक कम्पनीहरू असफल रहेको यो नै पहिलो पटक भने होइन ।

यसअघि प्राधिकरणले उपत्यकाका साथै देशका विभिन्न स्थानमा दूरसञ्चार सेवाको गुणस्तर मापन गरेको थियो । हालसम्म काठमाडौं उपत्यकामा भएको परीक्षणका तीन ओटा प्रतिवेदन सार्वजनिक भएका छन् ।

ती सबैमा सेवा प्रदायक गुणस्तरीय सेवा दिन असफल रहेको देखिन्छ । यसरी हरेक पटक हुने परीक्षणमा सेवा प्रदायक गुणस्तरीय सेवा दिनबाट चुकिरहेको भेटिँदा पनि नियामकले हालसम्म कुनै कारबाही भने गरेको देखिँदैन ।

हरेक पटकको परीक्षण पश्चात सेवाको गुणस्तर मापन गर्न सेवाप्रदायकलाई चेतावनी तथा समय दिने काम हुँदै आएको भएपनि त्यसको कुनै अर्थ हालसम्म देखिँदैन । यस्तोमा अब भने सेवाप्रदायकलाई कारबाही नै गर्ने तयारी गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

‘परीक्षणबाट आएको नतिजासँगै हामीले सेवा प्रदायकलाई किन कारबाही नगर्ने भनेर जानकारी गराउन पत्राचार गरिसकेका छौँ,’ अध्यक्ष खनालले टेकपानासँग भने, ‘सेवाप्रदायकबाट आएको जवाफका आधारमा हामी कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

धेरै पटक अध्ययन गरी गुणस्तरीय सेवा कायम गर्न निर्देशन दिँदा पनि त्यसलाई पालन गर्न नसक्नु सेवाप्रदायकको कमजोरी भएको उनले बताए । ‘सेवाप्रदायकका लागि यो लाजमर्दो कुरा हो ।

उनीहरूले दिने सेवाका बारेमा सबैले जानकारी पाउनु पर्छ भनेर नै हामीले यो प्रतिवेदन सार्वजनिक गरेका हौँ,’ अध्यक्ष खनालले भने, ‘अध्ययन गर्न र निर्देशन दिन मात्रै यो अध्ययन गरिएको होइन । सेवाप्रदायकको जवाफ चित्त बुझ्दो नआएको खण्डमा कारबाही हुन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२