काठमाडौं । भनिन्छ, परिस्थितिले मानिसलाई रचनात्मक कामहरू गर्न प्रेरित गरिरहेको हुन्छ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै जानु कुनै नौलो कुरा होइन ।
यसबाट उम्किएर त्यसलाई कसरी समाधान दिन सकिन्छ भन्नेबारे जिज्ञासा राख्ने सप्तरीका १९ वर्षीया मौसमकुमार झाले केही दिनअघि मात्र आफूले निर्माण गरेको विद्युतीय बाइक सार्वजानिक गरेका छन् । सिभिल इन्जिनियरिङमा डिप्लोमा गरिरहेका झालाई विद्युतीय बाइक बनाउने रहर सानैदेखि थियो ।
“मसँग त्यतिबेला विद्युतीय बाइक कसरी बनाउने भन्नेबारे कुनै ज्ञान थिएन । आफूसँग पैसा पनि थिएन । सानै उमेरमा त्यत्रो पैसा घरबाट माग्न पनि सकिएन । मसँग केवल रहर मात्र थियो । जसले गर्दा त्यतिखेर अघि बढाउनेबारे सोच्न पनि सकिनँ,” टेकपानासँग कुरा गर्दै झाले भने, “अहिले आफैँ केही रकम संकलन गरेर बनाउन लागी परेको थिएँ र केही दिन अघि मात्र मेरो यो काम पूरा भएको छ ।”
आत्मबल र ढृढ सङ्कल्प लिएर त्यसैमा लागिपरेका उनले आवश्यक सामान जम्मा गरेको करिब दुई सातामै यो बाइक बनाउन सफल भएको दाबी गरे । कोभिड महामारीको समयमा जारी लकडाउनको खाली समयमा उनी युट्युब र गुगलतिर आफूले बनाउन खोजेको बाइकबारे अनेक जानकारी बटुल्ने गर्थे ।
त्यसले उनलाई बाइक तयार पार्न निकै सहयोग गर्यो । व्यवहारिक ज्ञान बटुल्न थालेका झाले विद्युतीय बाइक आफैँ बनाउन सकिने कुरा पनि थाहा पाए । कसैको साथ, सहयोग र हौसलाबिना नै सुरु भएको उनको विद्युतीय बाइक बनाउने सपना अहिले आएर पूरा भएको छ । अहिले सबैले उनको कामको प्रशंसा गरिरहेका छन् ।
उनले विद्युतीय बाइक बनाउन आवश्यक केही सामान अमेजनबाट मगाए । बाँकी अन्य वेबसाइटहरूमा भेटे । “यसका लागि आवश्यक सामान नेपालमा खासै पाइँदैन । त्यसैले सबै भारतबाटै मगाउनु पर्यो । भारतमा ती सामानहरू सस्तो पर्ने भएकाले बाइक पनि सस्तो मूल्यमा तयार भयो, ” उनले भने ।
उनले निर्माण गरेको बाइकमा लिथियम आइरन फोस्फेट ब्याट्री राखिएको छ । यो ब्याट्री फुल चार्ज हुन छ देखि सात घण्टासम्म लाग्छ । ६० किलोमिटर प्रति घण्टा गतिमा गुड्न सक्ने यो बाइकमा एक हजार वाटको पीएमबीडीसी मोटर जडान गरिएको छ ।
फर्वार्ड र रिभर्स दुवै गियरमा चल्नसक्ने यो बाइकमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम छ । रिजेनेरेटिभ ब्रेकिङ सिस्टम प्रयोग गर्दा त्यसबाट ब्याट्री चार्ज हुन्छ ।
जसले गर्दा बाइकले थप तीनदेखि चार किलोमिटर यात्रा तय गर्न सक्छ । फुल चार्ज गर्दा दैनिक दुई युनिट विद्युत खपत गर्ने यो बाइकमा एक पटक फुल चार्ज गर्दा ११० किलोमिटरसम्म गुड्ने झाको दाबी छ ।
“नेपालमा पेट्रोलको मूल्य दिनप्रति दिन बढिरहेको छ । यो कुराले पनि मैले विद्युतीय बाइक बनाउनुपर्छ भन्ने प्रण गरेको थिएँ,” उनले थपे ।
लगानीकर्ता फेला पारेको खन्डमा ठूलो मात्रामा उत्पादन गरेर बजारसम्म पुर्याउन सकिने विश्वास झाको छ । यसमा अन्य थुप्रै विशेषता भएकाले बजार आकर्षित हुने कुरामा उनी ढुक्क छन् ।
“यो त मेरो केवल एक रहर थियो । रहरैरहरमा यति राम्रो बनेको चिजलाई व्यवसायिक रूपमा अघि बढाउन सकियो भने म सधैँ यसैमा समर्पित भइरहने छु, ” उनले ।
मेकानिकल इन्जिनियरिङ उनको पढाईको विषय नभए पनि उनले आफ्नो रहर पूरा गर्न मेकानिकल इन्जिनियरिङको यो क्षेत्र रोजे । यसमा केही गर्न नसके आफूले अध्ययन गरिरहेको सिभिल इन्जिनियरिङमै फर्किने उनी बताउँछन् ।
यद्यपि विद्युतीय बाइक बनाउँदा आर्थिक रूपमा केही सहयोग मिले यसैमा लागिपर्ने उनको सोच छ । यो बाइक निर्माण गर्दा उनको करिब एक लाख २५ हजार रुपैयाँ खर्च भएको छ ।
यदि धेरै मात्रामा बाइक निर्माण गर्न सकियो भने अझै सस्तो मूल्यमै तयार पार्न सकिने उनी बताउँछन् । जैविक विविधता संरक्षण गर्न, प्रदुषण कम गर्न, विदेशबाट आयात हुने पेट्रोलियम पदार्थमाथिको निर्भरता कम गर्न सरकारले विद्युतीय उपकरणहरू स्वदेशमै निर्माण गर्नेतर्फ प्रेरित गर्न आवश्यक छ ।