close

आगामी २० महिनामा विश्वभर फाइभजी प्रयोगकर्ता १ अर्ब नाघ्ने, थ्रीजी र फोरजीभन्दा तीव्र विस्तार हुँदै

टेकपाना टेकपाना

फागुन १९, २०७८ २१:४७

आगामी २० महिनामा विश्वभर फाइभजी प्रयोगकर्ता १ अर्ब नाघ्ने, थ्रीजी र फोरजीभन्दा तीव्र विस्तार हुँदै

काठमाडौं । एउटा अध्ययनले सन् २०२२ को अन्त्यसम्म विश्वका १ अर्ब भन्दा बढी प्रयोगकर्ता फाइभजीमार्फत जोडिने प्रक्षेपण गरेको छ । ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जीएसएमए) ले भर्खरैमात्र ‘मोबाइल इकोनोमी रिपोर्ट २०२२’ सार्वजनिक गर्दै यस्तो आँकलन गरेको हो ।

जीएसएमएको प्रतिवेदन अनुसार सन् २०२५ को अन्त्यसम्म विश्वका दुई अर्ब भन्दा बढी प्रयोगकर्ता फाइभजीको सम्पर्कमा हुनेछन् । यसको अर्थ सन् २०२५ सम्म विश्वका पाँच जनामध्ये दुई जना फाइभजीमा हुनेछन् ।

मोबाइल इन्टरनेटको नयाँ प्रविधिको रुपमा लिइएको फाइभजी यतिबेला विश्वका कतिपय देशमा सञ्चालनमा आइसकेको छ भने कतिपय देशमा परीक्षणकै क्रममा रहेको छ । नेपालमा पनि नेपाल टेलिकमले परीक्षणको लागि अनुमति प्राप्त गरि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।

छोटो समयमा विश्व दूरसञ्चार क्षेत्रले आत्मसाथ गरेको यो प्रविधिले दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने अनुमान गरिएको छ । जीएसएमएका अनुसार यो प्रविधि थ्रिजी र फोरजीको तुलनामा निकै तीव्र गतिमा विस्तार भइरहेको छ ।

अध्ययन प्रतिवदेनका अनुसार फाइभजी सार्वजनिक भएको १८ महिनाको यो अवधिमा दूरसञ्चार सेवाको ५.५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भइसकेको छ । जबकी थ्रिजी र फोरजीको समयमा १८ महिनाको अवधिमा जम्मा २.२ प्रतिशतमा मात्रै पहुँच पुगेको थियो ।

यस हिसाबले सन् २०२२ को अन्त्यसम्म एक अर्ब भन्दा बढी र सन् २०२५ को अन्त्यसम्म दुई अर्ब भन्दा बढीको पहुँचमा पुग्ने अनुमान गरिएको छ । आज विश्वका ७० देशले फाइभजी सुरु गरिसकेका छन् ।

जहाँ दुई सय भन्दा बढी फाइभजी नेटवर्क लाइभ छन् । ती देशमा रहेका ६८ ओटा मोबाइल सेवाप्रदायकले फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए), २३ सेवा प्रदायकले स्ट्याण्ड एलोन (एसए) मोडलमा आधारित फाइभजी सेवा उपलब्ध गराइरहेका छन् । प्रतिवेदन अनुसार अबका दिनमा फाइभजी प्रयोगकर्ता बढ्दै जाने र फोरजी प्रयोगकर्ता निरन्तर रुपमा घट्दै जानेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२