काठमाडौं । रियल टाइम स्ट्राटिजी (आरटीएस) गेमहरूले प्राय: खेलाडीलाई वास्तविक ओलम्पिक खेलमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेजत्तिकै अनुभव दिन्छ । त्यसैले निकै रचानात्मक भएर आरटीएस गेम तयार गर्नुपर्ने हुन्छ ।
खेलाडीले आफूलाई स्क्रिनको माध्यमबाट गेमसँग जोड्नेहुँदा डेभलपरले गेमलाई वास्तविक जस्तैगरी महसुस गराउन सक्नुपर्छ ।
अहिले बजारमा थुप्रै आरटीएस गेम उपलब्ध छन्, जसमध्ये एन्ड्रोइड प्रयोगकर्ताका लागि तयार गरिएको केही गेमका बारेमा यहाँ उल्लेख गरिएको छ ।
टोटल वार सरिज गेम अहिलेसम्मको सबैभन्दा लामो समयसम्म टिकेको आरटीएस गेम हो ।
रोम: टोटल वार यो सिरिजको तेस्रो खेल हो र यो मूल रूपमा सन् २००४ मा कम्प्युटरका लागि सार्वजनिक भएको थियो ।
हाल भने यो एन्ड्रोइड मोबाइलमा पनि खेल्न मिल्ने भएको छ । रोम: टोटल वारमा सेनाहरूको टोलीलाई नियन्त्रण गर्ने जिम्मा खेलाडीको हुन्छ ।
अर्थात् खेलमा उपलब्ध कुल १९ वटा सेनाको गुटमध्ये एउटाको जिम्मेवारी खेलाडीको हुन्छ । यस अभियानको क्रममा, खेलाडीले युरोप, उत्तर अफ्रिका र नजिकैको पूर्वीय क्षेत्रलाई जित्ने प्रयास गर्नुपर्छ ।
ठूला आरटीएस लडाईंहरू खेलको केन्द्रविन्दु हुँदा खेलाडीले यो खेलमा आफ्नो विचार र रणनीतिलाई प्रस्तुत गर्ने मौका पाउँछन् । प्रयोगकर्ताले गुगल प्ले स्टोरमा १०.२४ डलर तिरेर यो गेमको एप डाउनलोड गरी खेल्न सक्नेछन् ।
ब्याड नर्थ: जोटन इडिसन गेममा एउटा टापुमा रहेको राज्य हुन्छ, जुन सामुन्द्रिक आक्रमणकारीहरूको नियन्त्रणमा हुन्छ । यो खेल पूरा गर्नको लागि प्लेयरले आफ्नो साथीलाई सुरक्षित रुपमा बचाउँदै उक्त राज्यलाई आक्रमणकारीबाट जोगाउनुपर्ने हुन्छ ।
यसमा अगाडि बढ्दै जाँदा बञ्चरो चलाउने लुटेराहरूसँग लड्दै अन्य अप्ठ्याराहरू पार गर्दै प्लेयर अगाडि बढ्नुपर्ने हुन्छ । यसमा विभिन्न चरणका मिसनहरू छन् ।
प्रत्येक मिसन सुरु हुनुअघि, प्लेयरले टापुको वरपर आफ्नो सेना तैनाथ गरेर आदेश जारी गर्नुपर्ने हुन्छ । प्लेयरको आदेशलाई पछ्याउँदै यो गेम अगाडि बढ्छ । यदि प्लेयरले आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेको खण्डमा आक्रमणकारीको जित हुनेछ ।
रोम: टोटल वार जस्तै कम्पनी अफ हिरोज एउटा पुरानो कम्प्युटर गेम हो । सबैभन्दा प्रभावशाली आरटीएस गेमहरूको सूचीमा यो गेम पनि एक हो । । यो गेममा युद्धको विषयमा सचेत रहेर आफ्नो सेनालाई माइक्रोम्यानेजिङ गर्नुपर्ने हुन्छ ।
मोबाइलमा खेल्ने प्रयोगकर्तालाई ध्यानमा राख्दै यसमा हालै धेरै नयाँ फिचर पनि थप भएका छन् । कम्पनी अफ हिरोजमा प्लेयरले अमेरिकी सेनाको रुपमा गेम खेल्नुपर्ने हुन्छ ।
दोस्रो विश्वयुद्धमा उक्त सेना युरोपमा आक्रमण गर्नको लागि अगाडि बढ्छन् । यो अभियान अवधिभर प्लेयर आफ्नो उद्देश्यहरू पूरा गर्न विभिन्न सेनाको टोली र सैनिक सवारी साधनहरूसँग सम्पर्कमा रहनुपर्ने हुन्छ ।
योसँगै प्लेयरले लडाईंका लागि आफ्नो एउटा टोली तयार गरेर निर्देशन पनि दिनुपर्ने हुन्छ । सन् २०२२ मा डेभलपरले यसमा मल्टिप्लेयर अप्सन पनि थप गरेको छ । यसमा तपाईं अन्य साथीहरूसँग मिलेर आफ्नो लडाईं खेल्न सक्नुहुन्छ ।
किङडम: टु क्राउन्सको अवधारणा एकदम सहज छ । यसमा प्लेयरले आफ्नो राज्य खडा गर्नुपर्ने हुन्छ । अरु राज्यबाट आफ्नो राज्य जोगाउनु र आफ्नो राज्यको सुरक्षा गर्नु नै यो खेलको अवधारणा हो ।
त्यस्तै यदि प्लेयर आफ्नो राज्य जोगाउन असफल भएको खण्डमा उसले राज्यको पुन: निर्माण गर्नु यो गेमको महत्त्वपूर्ण भाग हो ।
किङडम: टु क्राउन्स गेम सुरु हुँदा प्लेयरलाई राज्यको खाली हड्डीहरूले स्वागत गरिन्छ ।
शिकार र काठ काट्नेजस्ता अत्यावश्यक कार्य गर्न मिनियनहरूलाई निर्देशन दिएपछि प्लेयरले आफ्नो सुरक्षाको व्यवस्थापन गर्न सुरु गर्नुपर्छ ।
प्रत्येक रातमा ‘ग्रीड’ भनिने गुन्डाहरू आएर प्लेयरको राज्यलाई लुट्ने प्रयास गर्छन् । यसबाट पनि प्लेयरले आफ्नो राज्य जोगाउनुपर्ने हुन्छ ।
नर्थगार्डले एज अफ एम्पायर्स जस्ता खेलहरूको झल्को दिन्छ । यस गेममा प्लेयरले आफ्नो बस्ती विस्तार गर्न स्रोत व्यवस्थापन गर्नुपर्छ । यसपछि शत्रुको इलाका कब्जा गर्न सेनाका टोलीहरू गठन गरि परिचालन गर्नुपर्छ ।
यो गेममा लडाईं गर्नेभन्दा पनि आफ्नो वस्ती व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा मुख्य ध्यान दिनुपर्ने हुन्छ । यो पनि एउटा मल्टिप्लेयर गेम हो, जहाँ आफ्नो साथीहरूसँग मिलेर तपाईंले आफ्नो बस्ती व्यवस्थापन गर्नु सक्नुहुन्छ ।
प्लेग इंकको पनि एउटा सामान्य अवधारणा छ । यहाँ तपाईं हिरो नभई खलनायकको भूमिका निभाउनु हुनेछ । यसमा तपाईंले एक खतरनाक रोगलाई फेलाएर विश्वको जनसंख्या सकाउनुपर्ने हुन्छ ।
यो उद्देश्य पुरा गर्नका लागि प्लेयरले थुप्रै चुनौतीहरू पार गर्नुपर्ने हुन्छ । यसमा तपाईंले कस्तो प्रकारको रोग फैलाउने भनेर आफैंले रोग छनौट गर्न पाउनुहुन्छ ।
रोग छनौट गरिसकेपछि रोगलाई फैलाउन तथा यसबारे नयाँ जानकारीहरू अध्ययन गर्न लगानी गर्नुपर्ने हुन्छ । एकपल्ट तपाईंले रोगको विकास गरिसकेपछि सो रोगको उपचार भेटिनुअघि नै तपाईंले विश्वको जनसंख्या सिध्याउनुपर्छ ।
इलिमेन्ट गेमले आरटीएसको पुरानो तरिका प्रयोग गरेको छ । यसमा सामान्य रुपमा आफ्नो प्रतिद्वन्द्वीलाई हराउन सेनाको टोली निर्माण गर्न स्रोतहरू जम्मा गर्नुपर्ने हुन्छ । त्यसैले यसमा धेरै लामो राउन्डहरू हुँदैन ।
स्रोत जम्मा गर्दै जाँदा एउटा राउन्ड कहिलेकाहिँ एक मिनेटभन्दा पनि कम समयमा सकिन्छ । यद्यपि इलिमेन्ट एक सजिलो खेल भने होइन । खेलमा निर्माण गर्नका लागि केवल चार प्रकारका भवन तथा इकाइहरू छन् ।
यही सीमित स्रोतलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । तिनीहरूलाई सही रूपमा प्रयोग गर्नु नै यो खेलको मुख्य चुनौती हो ।
रिम्डक्यापस गेमलाई ठ्याक्कै परिभाषित गर्न गाह्रो छ । किनभने यसमा बेस बिल्डर, पजल र टावर डिफेन्स गरी तीन प्रकारको खेल एकैठाउँमा जोडिएको छ । यो खेलको एक साधारण अवधारणा छ ।
आफ्नो बेस (संरचनाको जग हाल्ने काम) तयार गर्नुहोस्, मोनोलिथहरू (एउटा मात्र ढुङ्गाबाट बनेको विशाल संरचना) खोज्नुहोस् र घातक त्रिकोणात्मक एंगलबाट यसलाई जोगाउनुहोस् ।
जति तपाईंको जग बलियो हुन्छ, त्यति नै तपाईंको संरचना बलियो हुन्छ । एउटा राम्रो आरटीएस गेम हुनका लागि फ्यान्सी ग्राफिक अथवा जटिल फिचर हुन आवश्यक छैन भनेर यो गमेले प्रमाणित गरेको छ ।