काठमाडौं । पछिल्लो समय सार्वजनिक हुने कारमा उपलब्ध हुने विभिन्न सुरक्षा फिचरमध्ये ‘ट्रयाक्सन कन्ट्रोल सिस्टम’ एक हो । यो सुरक्षा प्रणालीको प्रयोग कारहरुमा दशकौंदेखि विभिन्न तरिकाबाट हुँदै आएको पाइन्छ ।
तुलनात्मक रुपमा हेर्ने हो भने, ‘ट्रयाक्सन कन्ट्रोल’ जडान भएको कार सुरक्षित मानिन्छ । याे एक विद्युतीय प्रणाली हो । विशेषगरी पछिल्लो समयमा सार्वजनिक हुने विद्युतीय कारमा यो प्रविधि जडान भएको हुने गर्दछ ।
यो प्रणालीले गाडी गुडिरहेको अवस्थामा पाङ्ग्रा चिप्लने सम्भावनालाई कम गर्न वा रोक्नका लागि ‘एन्टी-लक ब्रेकिङ सिस्टम’ (एबीएस) जस्तै विभिन्न सेन्सरहरुको प्रयोग गर्दछ ।
टायरले सडकको सतहलाई प्रभावकारी रुपमा नसमातेको अवस्थामा पाङ्ग्रा घुमिरहेको हुन्छ, जसले गर्दा कार ‘ओभरस्टेयर’ वा ‘अन्डरस्टेयर’ हुने भएकाले दुर्घटना हुने सम्भावना अत्यधिक हुने गर्दछ ।
अन्डरस्टीयर र ओभरस्टीयर सवारी साधनको गतिशीलता झल्काउने शब्दहरू हुन् । यसलाई सवारी साधनको स्टेयरिङमा हुने संवेदनशीलतालाई वर्णन गर्न प्रयोग गर्ने गरिन्छ ।
ओभरस्टीयर कारको चालकले आदेश दिएकोभन्दा बढी कार घुमाउँदा हुने गर्दछ भने ठीक त्यसको विपरीत अन्डरस्टीयर दिएको आदेशभन्दा थोरै कार घुमाउँदा हुने गर्दछ ।
टायरले ग्रिप गुमाएको अवस्थामा पाङ्ग्रा घुमेको पत्ता लगाउनु ट्रयाक्सन कन्ट्रोल प्रणालीको आधारभूत उद्देश्य हो । त्यसपछि पाङ्ग्रा घुमेको गतिलाई रोक्न वा ढिलो गर्न यसको भूमिका रहन्छ ।
यदि ‘एबीएस’का सेन्सरहरूले पाङ्ग्रा घुमिरहेको पत्ता लगाएको खण्डमा गाडीमा रहेको कम्प्युटरको सफ्टवेयरले पाङ्ग्रालाई ढिलो गर्न र ट्रयाक्सन पुन: प्राप्त गर्न अनुमति दिन ‘इन्जिनको आउटपुट’ (इन्जिनले सिर्जना गरेको बल) केही समयभित्रै रोकिदिन्छ ।
कार चलाउने क्रममा जुनसुकै पाङ्ग्रा चलाएपनि ट्रयाक्सन कन्ट्रोलको कार्य सिद्धान्त एउटै हुने गर्दछ । तसर्थ, गाडीको अगाडि, पछाडि वा सबै पाङ्ग्रामा ट्रयाक्सन कन्ट्रोल सिस्टम राख्न सकिन्छ ।
१९७० को दशकमा प्यासेन्जर कारमा पहिलाे पटक ट्रयाक्सन कन्ट्रोल सिस्टमको प्रयोग भएको पाइन्छ । तर प्राविधिक सीमितताका कारण यस किसिमकाे प्रणाली भरपर्दो हुने गरेकाे थिएन ।
१९८० को दशकको अन्त्यतिर र १९९० को सुरुवाती समयमा ट्रयाक्सन कन्ट्रोल सिस्टम अधिकरुपमा सामान्य र परिष्कृत हुन थाल्याे ।
सन् १९७८ मा मर्सिडिज, बीएमडब्लू र टोयोटाले पहिलो पटक ट्रयाक्सन कन्ट्रोल सिस्टमको प्रयोग गरेका थिए भने पछिल्लो समय सार्वजनिक हुने कारहरुमा यस किसिमकाे विद्युतीय प्रणालीको प्रयोग सामान्य भइसकेकाे छ ।