काठमाडौं । निश्चय नै कुनै पनि प्रयोगकर्तालाई आफ्नो फोन लामो समयसम्म चलोस् भन्ने लाग्नु स्वभाविकै हो । यस्तोमा भौतिक रूपमा फोनलाई सुरक्षित राख्न कभर राख्ने गरिन्छ ।
तर, फोनभित्र भएको सफ्टवेयरलाई कुन कुराले सुरक्षा दिन्छ होला ? फोनको सफ्टवेयरलाई कसरी सुरक्षित राख्न सकिएला ? हो, यहीँनिर फोनको अपडेटले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यही कुराले फोन खरिद गरेको लामो समयसम्म सुरक्षित राख्छ ।
तपाईँको फोनमा बारम्बार अपडेट आउने र निश्चित समयपछि वर्षौँसम्म अपडेट नआउनुको पछाडि फोन निर्माता कम्पनीको भूमिका हुन्छ । आज हामी तपाईँलाई विभिन्न ब्रान्डका फोनमा भएका अपडेटबारे बताउँदै छौँ ।
एन्ड्रोइडको दुनियाँमा दुई किसिमका स्मार्टफोन अपडेट रहेका छन् । सामान्यतः वर्षमा एक पटक सार्वजनिक हुने अपडेटलाई अपग्रेड भनिन्छ भने बारम्बार आउने अपडेटलाई सेक्युरिटी प्याच भन्ने गरिन्छ । जुन मासिक, द्वैमासिक वा त्रैमासिक रूपमा आउने गर्छ ।
अपग्रेड
अपग्रेड त्यतिबेलाको अवस्थालाई भनिन्छ, जतिबेला तपाईँको फोन एउटा भर्सनबाट अर्को भर्सनमा रूपान्तरण हुन्छ । उदाहरणका लागि तपाईँसँग एन्ड्रोइड ११ भर्सनको फोन छ र त्यसमा अपडेट आयो जसले तपाईंको फोनलाई एन्ड्रोइड १२ मा लग्छ ।
त्यसैलाई अपग्रेड भएको बुझ्नुपर्ने हुन्छ । सामान्यतः यस्तो अपडेट वर्षमा एक पटक आउने गर्छ । फोन अपग्रेड भएको अवस्थामा फोनको कार्यक्षमतामा ठूलो परिवर्तन देखिन्छ ।
प्याच
प्याच बारम्बार आइरहने ससानो किसिमको सेक्युरिटी अपडेट हो । यस किसिमका अपडेट बारम्बार आउनुले फोनको सुरक्षालाई बढवा दिन्छ ।
एन्ड्रोइड अपरेटिङ सिस्टम गुगलको स्वामित्वमा रहेको छ । एन्ड्रोइड अपेरेटिङ सिस्टममा आउने हरेक अपडेटका लागि गुगल नै सबैभन्दा बढी जिम्मेवार हुने गर्छ । त्यसैले पनि गुगलको पिक्सेल फोनमा सबैभन्दा पहिले यस्ता अपडेट आउँछन् ।
ब्रान्ड पिच्छे कस्तो छ ‘फोन अपडेट पोलिसी’
१. ह्वावे
ह्वावेले आफ्ना नयाँ फोनमा कुनै किसिमको अपग्रेड तथा प्याच सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको छैन । पश्चिमा प्रतिबन्धका कारण ह्वावे फोनमा दुई किसिमका अपरेटिङ सिस्टम प्रयोग हुने गर्छन् ।
चीनमा उपलब्ध हुने फोनमा हार्मोनी अपरेटिङ सिस्टम हुने गर्छ भने अन्य देशमा उपलब्ध हुने फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलिरहेको छ । प्रतिबन्धका कारण ह्वावेले गुगलका कुनै पनि सेवा प्रयोग गर्न सकिरहेको छैन ।
२. अनर
अनरले आफ्ना स्मार्टफोनका लागि दुई ओटा अपग्रेड र दुई वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । अनर पहिले ह्वावेको सहायक कम्पनी थियो ।
प्रतिबन्धमा परेपछि ह्वावेले स्वतन्त्र फर्मलाई उक्त ब्रान्ड बिक्री गरेको थियो । त्यसपछि अनर स्वतन्त्र ब्रान्ड बनेको हो । त्यस लगत्तै अनरले स्मार्टफोन सार्वजनिक गर्न थालेको थियो ।
३. वन प्लस
वन प्लसका फ्ल्यागशिप स्मार्टफोनमा तीन ओटा अपग्रेड र चार वर्षसम्म सेक्युरिटी प्याच आउने गर्छ । मिड रेन्जको नोर्ड सिरिजका फोनमा दुई ओटा अपग्रेड र तीन वर्षको सेक्युरिटी प्याच उपलब्ध हुन्छ ।
बजेट रेञ्जको नोर्ड एन सिरिजमा भने एउटा अपग्रेड र दुई वर्षको प्याच पाउन सकिन्छ । वन प्लसले फोनको मूल्य अनुसार अपडेट उपलब्ध गराउँदै आएको छ । तपाईँले जति धेरै पैसा खर्च गर्नु भयो त्यति धेरै अपडेट पाउनुहुन्छ ।
४. ओप्पो
ओप्पोका फ्ल्यागशिप स्मार्टफोनले तीन ओटा अपग्रेड र चार वर्षसम्म प्याच पाउने गर्छन् । मिड रेन्जका फोनमा दुई ओटा अपग्रेड र चार वर्षसम्मको प्याच आउँछ । बजेट फोनमा भने एउटा अपग्रेड र तीन वर्षसम्मको प्याच पाइन्छ ।
अल्ट्रा बजेट फोनमा चाहिँ कुनै किसिमको अपग्रेड देख्न सकिन्न । ओप्पो र वनप्लस ब्रान्ड छुट्टाछुट्टै भए पनि स्वामित्वकर्ता एउटै कम्पनी हो । त्यसैले ओप्पोले फोन अपडेटमा जनाएका प्रतिवद्धता वनप्लसकै सरह हुन्छ ।
५. पोको
पोकोले सार्वजनिक रूपमा कस्तो अपग्रेड र सेक्युरिटी प्याच उपलब्ध गराउने भन्ने कुनै स्पष्ट जानकारी दिएको पाइँदैन । तर, पोकोका प्रायः फोनमा दुई ओटा अपग्रेड र दुई वर्षसम्मकै सपोर्ट सिस्टम रहेको देख्न सकिन्छ ।
साओमीको सहायक कम्पनी पोकोले अपग्रेड र प्याच सम्बन्धिका योजनाबारे आफ्ना फोन गुगलसँगको सम्झौता र सम्बन्धित नीति अनुरूप रहेको बताएको छ ।
६. रियलमी
रियलमीले मूल्यको कुनै प्रवाह नगरी आफ्ना फोनमा सामान्यतयाः दुई ओटा अपग्रेड र तीन वर्षसम्म प्याच उपलब्ध गराउँछ ।रियलमीले आफ्नो भगिनी कम्पनी ओप्पो र वन प्लस जस्तो मूल्यमा विभेद गरेको छैन । ओप्पो र वनप्लससँग जोडिए पनि रियलमी विभिन्न पक्षमा उनीहरूभन्दा पृथक छ ।
७. रेड्मी
रेड्मीले अपग्रेड र प्याच सम्बन्धी कुनैपनि प्रतिबद्धता जनाएको छैन । रेड्मीका प्रायः फोनमा एउटा अपग्रेडको अपेक्षा गर्न सकिन्छ । साओमीको सहायक ब्रान्ड रेड्मीले मिड रेन्जका फोन बढी उत्पादन गर्छ ।
रेड्मीका अनुसार यसले मासिक र त्रैमासिक रूपमा आफ्ना सबै फोनमा सेक्युरिटी अपडेट उपलब्ध गराउँछ ।